दुर्गा देवकोटा
टीकापुर, माघ २३गते । कैलालीकी एक किशोरी अहिले १७ वर्षकी भइन् । उनी अहिले १२ कक्षामा पढ्छिन् । आठ कक्षामा अध्ययनरत रहँदा उनले नराम्रो छुवाइको पीडा भोगिन् । उनलाई पढाउने आफ्नै शिक्षकको व्यवहारले उनको पढाइमा असर प¥यो ।
चौध वर्षमा शिक्षकको दुव्र्यवहार खेपेकी उनले नौ कक्षा पढ्दा शिक्षकको व्यवहारकै कारण विद्यालय बदल्नुप¥यो । पढाइमा उत्कृष्ट उनलाई पढाउने शिक्षकले कहिले पिठ्यिुमा धाप मार्ने, कहिले गाला चिमोट्ने, कहिले आँखाको इशारा गर्ने गर्थे । बालिकालाई शिक्षकको व्यवहार अनौँठो लाथ्यो । शिक्षकको व्यवहारले पीडा महशुस हुन थालेपछि उनलाई विद्यालय जान मन लाग्न पनि छाड्यो र पढाइ पनि बिग्रियो ।
सधैँ कक्षामा प्रथम वा द्वितीय आउने उनी अर्धवार्षिक परीक्षामा दशौ स्थानमा पुगिन् । उनी विद्यालयमा शिक्षकको गलत व्यवहार र घरमा अभिभावकको गाली सहन वाध्य भइन् । “बाबा आमाले छोरी ठूली भई, बिग्रन थाली भन्न थाल्नुभयो, मेरो बानीमा आएको परिवर्तन देखेर मलाई गलत ठान्न थाल्नुभयो”, उनी सम्झन्छिन्, “ओहो सम्झँदा पनि पीडा हुन्छ । म त निदाउन पनि नसक्ने भएँ । मलाई रातदिन तनावले पिरोल्न थाल्यो ।”
छोरीको व्यवहारमा परिवर्तन आएपछि एक दिन किशोरीकी आमाले छोरीलाई एक्लै राखेर सोध्नुभयो । किशोरीले आमासँग विद्यालयमा भोगिरहेको घटना सुनाइन् । आमाछोरीले शिक्षकलाई भेटेर त्यस्तो व्यवहार नदोहो¥याउन आग्रह गरे । शिक्षकले माफी मागे ।
उनले माया गरेर त्यसो गरेको बताए । अब त्यस्तो व्यवहार नगर्ने भनेपछि किशोरी खुशी भएर विद्यालय जान थालिन् तर शिक्षकले व्यवहार सुधारेनन् । उनले चार-पाँच दिनपछि थप हिंसा गर्न थाले । गलत छुवाइको पीडामा किशोरीको एक वर्ष बित्यो । उनले राम्रो नतिजा ल्याउन सकिनन् ।
“अर्को वर्ष आमाले बाबालाई भनेर मेरो विद्यालय बदल्नुभयो । म अर्को विद्यालय पढ्न थालेँ । अहिले म पढाइमा राम्रो छु”, किशोरी भन्छिन्, “त्यो बेला विद्यालय नबदलेको भए मेरो जीवन बर्बाद हुने थियो । आमालाई आफ्नो पीडा नभनेको भए म मानसिक रोगी हुन्थेँ होला ।” अहिले उनी पढाइमा राम्रो छिन् । त्यो समय विद्यालय नबदलेको भए उनको पढाइ बिग्रिन्थ्यो र जीवन दुःखदायी हुन्थ्यो । अभिभावकले समयमै जानकारी पाएर किशोरी थप हिंसा हुनबाट जोगिइन तर उनले भोगेको व्यवहार भुलेकी छैनन् ।
त्यस्तै कक्षा ७ मा अध्ययनरत अर्की किशोरी छिमेकीको घरमा ट्युसन पढ्न जान्थिन् । छिमेकमा रहेका दाइ नाता पर्ने उनका आफन्तले धेरै बालबालिका जम्मा गरेर ट्युसन पढाउँथे । किशोरी पनि स्कूलबाट फर्केपछि एक घण्टा उनको घर पढ्न जान्थिन् । धेरै विद्यार्थीका बीचमा पनि उनी हिंसा सहन्थिन् । दाइ नाता पर्ने उनले उनको गाला चिमोट्थे, तिम्रो गाला रातो भाछ भन्थे, नाक तान्थे । किशोरीलाई त्यो व्यवहार मन पर्दैनथ्यो । “मलाई उनले छुँदा नरमाइलो लाग्थ्यो । म डरले काप्थेँ, पसिना आउँथ्यो”, उनी भन्छिन्, “आमाले पढ्न पढाउनुहुन्थ्यो, म तनाव झेलेर फर्कन्थेँ ।”
आफन्तको व्यवहार मन नपरेपछि किशोरीले उनको घर जान छाडिन् । उनले आमालाई घरमै राम्रो पढ्न सक्ने बताइन् । “मैले त्यतिबेला यस्तो कुरा भनेमा इज्जत जान्छ भन्ने सोँचे”, उनी भन्छिन्, “अहिलेजस्तो बुझ्ने भएको भए घरमा सबैलाई भन्थेँ जस्तो लाग्छ । त्यस्तो व्यवहार गर्नेलाई कारवाही हुनुपर्ने हो भन्ने बुझेकी छु ।”
गलत छुवाइ बाल यौन हिंसाको शुरुआतको चरण हो । छुवाइलाई मानिसले सामान्यरुपमा लिन्छ । माया गरेको भनेर गरिने यस्ता व्यवहारले बाल मस्तिष्कमा गलत असर परेको हुनसक्छ । “बाल यौन हिंसा न्यूनीकरणका लागि यसरी बालबालिकालाई माया गरेको बहानामा छुने कार्य गलत हो”, टीकापुर नगरपालिका महिला बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाह भन्नुहुन्छ, “बालबालिका तथा विशेषगरी किशोरीमाथि हुने हिंसा न्यूनीकरणका लागि बालबालिका मात्र सचेत भएर हुँदैन । अभिभावक तथा शिक्षक शिक्षिकाले पनि सचेत रहन आवश्यक छ ।”
सङ्गीता अभिभावकले बालबालिकाले आफूमाथि भइरहेको गलत व्यवहार वा हिंसा खुलाउने खालको वातावरण तयार गर्नुपर्ने बताउनुहुन्छ । “नानीबाबु गलत व्यवहार भोगिरहेका हुन्छन्, अभिभावकले सहजरुपमा लग्दैनन् कि भनेर कुरा लुकाउँछन्, जसले उनीहरु गलत बाटोमा लाग्न सक्छन्”, शाह भन्नुहुन्छ, “बालबालिकाका कुरा सुन्ने वातावरण विद्यालय र घरमा हुनुपर्छ ।”
अधिकारकर्मी कल्पना उपाध्याय यस्ता हिंसा छोरीले बढी सहनुपर्ने भएकाले छोरीलाई यौन हिंसा, दुव्र्यवहार सहनु हुन्न भन्ने ज्ञान पहिल्यै दिन आवश्यक रहेको बताउनुहुन्छ ।
“विद्यालयमा हुने हिंसा रोक्न शिक्षकलाई पनि तालिम आवश्यक छ । बालबालिकालाई माया गरेको बहानामा उनीहरुको शरीर छुने, गलत तरिकाले हेर्न पाइँदैन”, उपाध्याय भन्नुहुन्छ, “हरेक छोरीलाई आत्मरक्षा तालिम आवश्यक छ । छोरीहरु जहाँ, जतिखेर पनि समस्यामा पर्न सक्छन् भनी उनीहरुलाई आफ्नो सुरक्षा आफैँ गर्न तयार गर्नुपर्छ ।”
शिक्षिका माया साउद शिक्षकले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गर्न आवश्यक रहेको बताउनुहुन्छ । “हरेक बालबालिकाको भावनाको ख्याल गरिनुपर्छ । बालबालिका तनावमा हुनसक्छ, ऊ घरबाट पनि तनाव बोकेर विद्यालय आएको हुनसक्छ”, शिक्षिका साउद भन्नुहुन्छ, “विद्यालय त बालबालिकाका लागि रुचि जाग्ने थलोका रुपमा विकास हुनुपर्छ । घर र विद्यालयमै हिंसा भएमा उनीहरुको सिकाइमा असर पर्छ ।”
बालबालिकाले भोग्ने यस्ता घटना प्रहरीसम्म निकै कम पुग्छन् । सामान्य व्यवहार हो भन्दै माफी दिने वा त्यस्तो व्यवहार गर्ने व्यक्तिबाट टाढिने गरिन्छ । प्रहरी कहाँ बलात्कार प्रयास वा बलात्कारका घटना भएमात्र उजुरी गर्ने गरिन्छ । इलाका प्रहरी कार्यालय टीकापुरमा आर्थिक वर्ष २०७६-७७ मा जबर्जस्ती करणीका नौ, जबर्जस्ती करणी उद्योगका पाँच मुद्दा दर्ता भएका थिए । आव २०७७-७८ को हालसम्म जबर्जस्ती करणीका चार र जबरजस्ती करणी उद्योगतर्फ एक मुद्दा दर्ता भएका छन् ।
प्रहरी निरीक्षक अरुण बम गलत छुवाई सहनुप¥यो भनेरै उजुरी आउने क्रम कम रहेको बताउनुहुन्छ । “गलत छुवाइ अपराध हो भनी हामीले विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ । घर, समाज वा विद्यालयमा साथी, आफन्त, शिक्षक जसले पनि गलत व्यवहार गरेमा नसहन सचेत गराइरहेका छौँ”, प्रहरी निरीक्षक बमले भन्नुभयो, “हामीले हरेक विद्यालयमा बाल हिंसा, बालबालिकामाथि हुने दुव्र्यवहारबारे जानकारी दिने गरेका छौँ ।”