logo
२०८१ असोज ८ मंगलवार



सीप र जाँगरले विदेशभन्दा स्वदेशमै कमाइ चार गुणा बढी

फिचर |
पढ्नै पर्ने |


सीप र जाँगरले विदेशभन्दा स्वदेशमै कमाइ चार गुणा बढी


धीरेन्द्रप्रसाद साह
राजविराज, फागुन ६ गते । सीप र जाँगर भए विदे भन्दा चारगुणा बढी स्वदेशकै माटोमा कमाउन सकिन्छ । यसको ज्वलन्त उदाहरण सप्तरीको सुरुङ्गा नगरपालिका वार्ड नम्बर २ कमलपुरका युवा किसान रामप्रकाश महतो हुनुहुन्छ ।
एक दशक अगाडि बैदेशिक रोजगारमा मलेसिया जानु भएको उहाँ त्यहाँ चार वर्ष ग्लोबस फैक्ट्रीसहित अन्यमा काम गरेर सात लाख रुपियाँ कमाइ गर्नु भएको थियो । विदेशबाट फर्किएपछि गाउँमै व्यवसायिक तरकारी खेती सुरु गरेपछि उहाँ वर्षमै सात/आठ लाख कमाइ गरिरहेको स्वयमले बताउनुभयो । चार वर्षमा विदेशमा कमाइ गरेजति रकम यहाँ वर्षमै कमाउन थालेको उहाँले भन्नुभयो, विदेशमा जति ड्युटी, समय र पसिना खर्च हुन्छ, त्यति यहाँ मिहिनत ग-यो भने विदेशभन्दा चार गुणा बढी कमाइ हुन्छ ।
महतोको बाबु जिवछ महतोले सामान्य व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको थियो । बाबुबाटै ज्ञान, सीप सिकेर उहाँ तरकारी खेतीको हब जस्तै व्यवसायीक खेती सुरु गर्नुभयो । आठ कठ्ठा भाडामासहित दुई बिघाभन्दा बढी जग्गामा तरकारी खेती गर्दै आउनुभएको छ । सिजन अनुसारको फुलकोबी, बन्दाकोबी, बोरी, भान्टा, प्याज, बोरी, आलु, रामतोरियाँ, खुर्सानी, फर्सी, लसुन, लौकालगायतको तरकारी उब्जाउने गरेकोले तरकारी खेती गर्ने जग्गामा धान बाली लगाइँदैन । यसै खेतीबाट खर्च कटाएर मासिक औषतमा ५०/६० हजार कमाउने गरेको बताउनुहुन्छ ।
सुख्खा, वर्षा र जाडोयाम अर्थात् १२ महिना खेतमा तरकारी लहलहाउने महतोले कहिँकतै कसैले तरकारी खेतीसम्बन्धी तालिम, गोष्ठीमा सहभागी नगराएको गुनासो गर्नुभयो । तरकारी खेतीका लागि प्रदान गरिने सरकारी अनुदानका सामग्री बारे पनि जानकारी नहुने गरेको उहाँले रासायनिक मलभन्दा बढी जैबिक मल प्रयोग गरेर बाबुबाट सिकेको ज्ञान र सीपले तरकारी खेतीमा उत्कृष्ट किसानको उपाधि हासिल गर्नुभएको छ ।
आवश्यक पूँजी अभावले थोरै क्षेत्रफलमा तरकारी खेती सुरु गरेर ऋणको लागि भौतारिनु भएको महतोलाई गाउँमै रहेको कमलपुर सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले युवा तथा साना व्यवसायीको कोष काठमाण्डौको सहयोगमा युवा स्वरोजगार कार्यक्रम अन्तर्गत दुई लाख कर्जा प्रदान गरेको सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद चौधरीले जानकारी दिनुभयो । युवा स्वरोजगार कोषमा प्राप्त ५० लाख रुपियाँबाट महतोसहित २८ जनालाई १० प्रतिशत ब्याजका दरले ऋण प्रदान गरेको उहाँले भन्नुभयो, ऋण प्राप्त गरेका सबै जनाले व्यवसाय गरेर उन्नति गरेका छन् ।
स्वरोजगारको लागि गरिने व्यवसायीमा दुई लाख ऋण लगानी निकै कम रकम भएको उहाँले ऋणको रकम बृद्धि गरेर पाँच लाख सम्म पु¥याउन सकिएमा व्यवसायी थप उत्साहित हुने बताउनुभयो । व्यवसायी गरेर जीविकोपार्जन गर्न चाहनेहरुले सात लाख रुपियाँसम्म ऋण माग्ने गरेको भए पनि दुई लाखसम्म मात्र ऋण दिन सकिने प्रावधान रहेको बताउनुभयो ।
व्यापार व्यवसायी, तरकारी खेती, कुखुरापालन, भैसीपालन, बाख्रापालन, माछापालन, साइकल मिस्त्रीसमेतमा स्वरोजगार कोषबाट ऋण लगानी गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
कोषबाट प्राप्त ऋण रकमबाट तरकारी खेती बिस्तारमा ठूलो मद्दत पुगेको किसान महतोको कथन छ । तरकारी खेती बिस्तारसँगै कमाइ पनि बढेको उहाँले सो कमाइबाट किस्तामै ऋण साँबा बुझाउनुको साथै दुई छोरी, एक छोराको पढाइ, घरायशी खर्च, केही स्थायी सम्पति जोड्न सफल भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?