logo
२०८१ असोज ८ मंगलवार



बागलुङमा नमूना प्राणी उद्यान, भौतिक संरचना तयार हुँदै

फिचर |
पढ्नै पर्ने |


बागलुङमा नमूना प्राणी उद्यान, भौतिक संरचना तयार हुँदै


नवीन शिशिर विक
बागलुङ, फाल्गुन ८ गते । बागलुङ नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि मालिका क्षेत्रलाई प्राणी उद्यान (जुलोजिकल पार्क) बनाउने योजना सार्वजनिक भयो । जिल्लाको कुनै पनि ठाउँमा प्रयोगमा नआएको योजना धेरै महत्वकांक्षी र पूरा हुन नसक्ने भनेर टिप्पणी भए पनि अहिले उक्त योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
बागलुङ नगरपालिका–५ मालिका क्षेत्रको बनमा पार्क निर्माणको लागि संङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाले साझेदारी कार्यक्रममार्फत भौतिक संरचना निर्माणमा जुटेका हुन ।
गण्डकी प्रदेश सरकारले उद्यान निर्माण क्षेत्रमा पर्यटन लक्षित पदमार्ग निर्माणको लागि ५० लाख रुपियाँ बजेट विनियोन गरेको थियो । उक्त रकमबाट मालिका भगवती मन्दिरदेखि जंगल क्षेत्रको करिव छ सय मिटरदुरीसम्म पदमार्ग निर्माणको काम जारी रहेको वडाध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
नगरपालिकाले योजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गत वर्ष निर्माण गरेको थियो । नगरपालिका वडा –५, ६ र ७ मा पर्ने पाँच वटा सामुदायिक वनलाई समेटेर प्राणी उद्यान बनाउन नगरपालिकाले योजना बनाएको छ । स्थानीय तहको निर्वाचतताका वाम गठबन्धनको साझा घोषणपत्रमा मालिका क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो ।
उद्यान निर्माण कार्यलाई गति दिन यस बर्ष सङघीय सरकार र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्र्तगत पाँच करोड ६१ लाख रुपियाँ बिनियोजन भएको छ । उक्त रकम मध्य सङघीय सरकारले ३ करोड ६५ लाख र बागलुङ नगरपालिकाले एक करोड ९६ लाख रुपियाँ बेहोर्नुपर्ने हुन्छ । विनियोजित रकम रकम तीन वर्षमा खर्च गर्नुपर्नेछ ।
मालिका क्षेत्रको सुनाखरी, जैविक, बयलधार, संसारकोट सामुदायिक, तितौरे समुदायिक वनको करिव ३७२ हेक्टर वन क्षेत्रको भाग संरक्षित गरी पार्क निर्माण गर्ने लक्ष्य राखिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।
सामुदायिक बनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि नमूना जूलोजिकल पार्क निर्माण शुरु भएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । उक्त पार्कको आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो ।
आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्सनले गतबर्ष ८ लाख रुपियाँको लागतमा सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गरिएको थियो । उद्यान निर्माण गर्न २६ करोड लागत लाग्नेछ । आगमी तीन वर्षभित्र आधारभूत पूर्वाधार निर्माण गर्न पाँच करोड ६१ लाख बजेट विनियोजन भएको पौडेलले जानकारी दिनुभयो ।
पशुपंक्षी, जडिबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यले जुलोजिकल पार्कको निर्माण गर्न थालेको नगरप्रमुख पौडेलको भनाई छ ।सामुदायिक वनमा प्राकृतिक, पर्यटन, वन्यजन्तु लगायतका पाँच क्षेत्रलाई ध्यानमा दिएर जुलोजिकल पार्क निर्माण गर्न आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्सनले डिपिआर निर्माण गरेको थियो ।
पार्क वरपर तीन किलोमिटर सडक, करिब दुई किलोमिटर पदमार्ग, भ्यू टावर, रेष्ट्रो सेन्टर, जुलोजिकल पार्क भित्र र बाहिर बाटो निर्माण, ५० हेक्टर जमिनमा जंगल व्यवस्थापन केन्द्र र वन्यजन्तु उद्दार तथा जंगलको फायर निर्माण लगायतका संरचना निर्माण गर्ने डिपिआरमा उल्लेख छ ।
उद्यान निर्माणको वन क्षेत्रमा चितुवा, मृत, बँधेल, घोरल, कालिज लगायतका जंगली जनावर र पंक्षी पाइन्छन् । सम्पूर्ण संरचना निर्माणको लागि ठूलो रकम आवश्यक पर्ने हुँदा धेरै समय लाग्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?