जनक श्रेष्ठ
लमजुङ, फागुन ९ गते । वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान । त्यहाँभित्र जीर्ण भवनको ससाना र अँध्यारो कोठामा पनि अटेसमटेस विस्तारा, लुगाफाटा र झिटीगुण्टा । खचाखच मानिस । नजिकै शौचालयबाट आइरहेको ह्वास्स दुर्गन्ध । यो कष्टकर र अत्यासलाग्दो अवस्था हो – जिल्ला कारागारको ।
मापदण्डअनुसारको यहाँको कारागारको संरचना छैन । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने कानूनी प्रावधान छ । कारागार ३५ जनाका लागि मात्रै उपयुक्त देखिन्छ । अहिले ९१ कैदीबन्दी छन् ।
पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दी कारागारमा बस्न बाध्य छन् । बेंसीशहर नगरपालिका वडा नं ८ मा स्थित जिल्लाको एकमात्र कारागारमा विभिन्न सजय भुक्तानी गर्दै आएका कैदीबन्दीलाई चिन्ता र कष्टले सताइरहन्छ । उनीहरु यतिबेला चिसोको मारमा छन् । संरचनाको अभाव तथा जीर्ण हुँदै गएको कारागारमा चिसोयाम होस् वा गर्मी याम ।
यहाँ उनीहरुलाई बा¥है्र महिना दिनरात समस्या हुने गर्दा चिन्तामै हुने गरेका हुन् । चार वर्षदेखि कैद भुक्तानी गर्दै आइरहेका सुवास रानाभाटले भन्नुभयो, “पुस माघको समयमा हामीलाई सुत्न बस्नलाई नै समस्या भइरहेको छ । तल भुइँबाट सिमेन्टीको चिसो आउने गर्दछ । चिसो भुइँमा सुत्नुपर्छ ।” धेरैजना भएकाले भुइँमा लमतन्न भित्र छिर्ने ढोकादेखि शौचालयसम्मै म्याट ओछ्याएर सुत्नुपर्दा विभिन्न समस्या भइरहेको उहाँको भनाइ छ ।
सिमेन्टको चिसो दिउँसो घाम लाग्दा पनि ओभानो हुँदैन । रातमा त बढी नै चिसो हुने र बिहान कतिबेला घाम लाग्ला र बाहिर घाम ताप्न पाइला भन्दै रात कटाउने गरेको उहाँले दुःखेसो पोख्नुभयो ।
“यहाँ बढी केन्दीबन्दी हुँदा शौचालय जाने बाटोसम्मै सुत्ने गरेको छौँ । राति शौचालय जाने ठाउँ पनि पाइँदैन । बिहान पालो कुर्दाकुर्दै घण्टौँ बित्छ”, उहाँले भन्नुभयो । यस्तो समस्यामा दिनरात कटाउनुपर्दा निकै चिन्ता हुने गरेको छ । सात वर्षदेखि कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तानी गर्दै आएका जीवन अधिकारीले भन्नुभयो, “हामीलाई सुत्ने, बस्ने ठाउँमा चिस्यान नै चिस्यान छ । समाधान छैन ।
यही चिसोका कारणले यहाँ दिनहुँ दुई चार जना रुघाखोकीको बिरामी हुने र निको हुने गरेको छ ।” यति मात्र होइन कोभिडका बेला सामाजिक दूरी कायम गरी उनीहरु सुत्ने र बस्ने गरेका थिए । कोचिएर एउटै ठाउँमा खानुपर्दा कोरोनाको धेरै डर त्रास हुने गरेको थियो । अहिले कोभिडको जोखिम कम छ । चिसो मौसम सकिएर गर्मी मौसम शुरु हुनेबेला भएको छ ।
गर्मी मौसममा त झन् बढी समस्या हुने गरेको उहाँको भनाइ छ । गर्मीले उकुसमुकुस बनाउने, कारागारको पर्खालदेखि सुत्ने ठाउँको भवन जीर्ण भएकाले कतिबेला भत्किएर ज्यान लिन्छ कि भन्ने डरैडरमा कैदीबन्दी छन् । “गर्मीका बेला खुला हावा आउने हुनुपर्दछ । । सबै एउटै ठाउँमा कोचिएर बस्नुपर्दा श्वास फेर्नसमेत कठिन हुने गर्दछ ।” उहाँले भन्नुभयो । शौचायलय जानसमेत पालो कुरेर बस्नुपर्ने, अझै दुर्गन्धित भएकाले रोग लाग्ने बढी सम्भावना गर्मी याममा हुने गरेको छ ।
तीन वर्षदेखि कैद सजाय काट्दै आएका मङ्गलबहादुर गुरुङले भन्नुभयो “राणाकालको आँखीझ्याल जस्तो हामी बस्ने ठाउँ छ । धेरै बस्दा एकअर्काको रोग सर्ने सम्भावना पनि उच्च छ । वर्षेनी गर्मीमा ओछ्यानमा उडुस पर्ने गर्छ । टोकेर सुत्नै मुस्किल हुन्छ । राति १२ बजेसम्म उडुस मार्नमै व्यस्त हुने गर्दा राम्रोसँग सुत्नसमेत समस्या हुने गर्दा गर्मी शुरु हुन लाग्दा थप चिन्तामा छौ ।
चिसोको समयमा खानेपानी आउने गरे पनि गर्मीमा त खानेपानीको समस्या कारागारमा हुने गरेको छ । पानी कम हुँदा सरसफाइसमेत राम्रोसँग गर्न नपाउने समस्या यहाँका कैदीबन्दीको विगतदेखि कै हो । कैदीबन्दी बस्ने ठाउँ फराकिलो र नयाँ संरचना भएमा सहज हुने कैन्दीबन्दीको भनाइ छ ।
यहाँका कैदीबन्दीले समस्याको समाधान गर्न सरकारसँग माग गर्दै आए पनि समस्या जहाँतहीँ जीवित छ । यस कारागार विसं २०२८ मा कुन्छाबाट बेँसीशहरमा सदरमुकाम सरेसँगै निर्माण गरिएको थियो । कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना गरी चार रोपनी क्षेत्रफलमा फैलिएको छ । सङ्ख्याका आधारमा कारागारका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्ने कारागारका सूचना अधिकृत रमेश विकको भनाइ छ ।
कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनहुँ उनीहरुलाई विभिन्न समस्या हुने गरेको छ । खान, बस्न, सुत्नदेखि शौचालय जानसमेत उनीहरूलाई कठिन भइरहेको र सम्बन्धित ठाउँमा समस्याको समाधान गर्न पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित निकायबाट उक्त कारागारमा नयाँ भवन बनाउन उपयुक्त हुन्छ-हुँदैन भनेर अघिल्लो गतवर्ष माटो परीक्षणको कामसमेत भइसकेको छ । नयाँ भवन बनाउनका लागि उपयुक्त भएको ठहरसमेत प्राविधिक टोलीले गरेको थियो । अहिलेसम्म पनि कुनै काम अघि बढ्न नसकेको जिल्ला कारागारले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले क्षमताभन्दा बढी कैदीबन्दी र पुरानो संरचना हुँदा धेरै समस्या भए पनि समाधान हुन नसक्दा कानुनी मापदण्डअनुसारको हुन नसकेको बताउनुभयो । नेपालकै पुरानो कारागारमध्ये एक भएको जनाउँदै उहाँले दिनहुँ दिन कैदीबन्दी थपिँदै जाँदा नयाँ भवन निर्माण गर्नुपर्ने भए पनि नयाँ भवन उपलब्ध हुन नसक्दा विभिन्न समस्या भइरहेको जानकारी दिनुभयो ।
यस्तो संरचनामा कैदीबन्दी राख्दा उनीहरुको मनोबलसमेत गिर्ने भएकाले कारागार व्यवस्थापन विभागमा लेखापढी गरेर आवश्यक पहल गर्न अनुरोध गरिएको भए पनि कायान्वयन हुन नसकेको उहाँको भनाइ छ । झण्डै ४९ वर्षअघि निर्माण भएको यस कारागार अहिलेसम्म पनि खासै मर्मत तथा आवश्यकताअनुसार कारागारको भवन निर्माण हुनसकेको छैन ।
यसलाई थप व्यवस्थित र कैदीबन्दीलाई मध्यनजर गरेर सोहीअनुरुप संरचना निर्माण नहुँदा यस्ता समस्या देखिएको छ । यहाँ अब भने सरकारले भवन निर्माण गर्ने बताइएको छ । यस कारागार २५ पुरुष र १० महिला गरी ३५ जनाको क्षमता कारागार हो । हाल रहेको ९१ जना कैन्दीबन्दीमध्ये ८२ कैदीबन्दी पुरुष ८० र ११ कैदीबन्दी महिला छन् ।
४७ कैदी र ४४ थुनुवा रहेका छन् । तीमध्ये ३९ कैदी पुरुष र आठ कैदी महिला रहेको कारागारले जनाएको छ । त्यस्तै ४१ जना पुरुष र तीन जना महिला थुनुवा (पुर्पक्षका लागि राखिएको) रहेका छन् । कैदीमध्ये बढी जबर्जस्ती करणी उद्योग, कर्तव्य ज्यान मुद्दाका बढी छन् ।