logo
२०८१ बैशाख ७ शुक्रवार



मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरू

फिचर |
प्रदेश |


मेलम्ची खानेपानीको सुरुङमा  पानी पठाएर परीक्षण शुरू
तस्बिर साैजन्य : निमेश रेग्मी


मुकुन्द गैरे/ बिदुर आचार्य 

चौतारा, फागुन १० गते । मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन आज पानी हालेर सुरुङ परीक्षण गरिएको छ । सो कुराको जानकारी मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले गोरखापत्र अनलाइनलाई  दिनुभयो । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गर्न परीक्षण गरिएको हो ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले आज मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी तथा प्राविधिक टोलीको सहभागिता थियो ।तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउने आयोजनाले बताएको छ ।

परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुुझाव दिएपछि पथान्तरणका लागि करिब दुुई महिना ढिला भएको थियो ।

मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ । मेलम्ची खानेपानी समितिका अनुसार तीन चरणमा पथान्तरण गरिनेछ । पहिलो चरणमा सुरुङमा पानी पठाएर होल्ड (पथान्तरण) गरिनेछ । उक्त पानी सुरुङबाट बाहिर फालेर पुनः पथान्तरण गरिनेछ । तीन चरणको पथान्तरणपछि सुन्दरीजलमा पानी ल्याइनेछ ।

साे अवसरमा खानेपानी मन्त्री मणिचन्द्र थापा  मुलुक सुरुङ युगमा प्रवेश गरेको बताउँदै यो सुरुङ परीक्षण सफलताले महत्व राख्ने मन्त्रि थापाले बताउनुभयो । ‘मेलम्चिको यो सफलता एउटा आयोजनाको मात्रै सफलता नभइ सिंगो मुलुकका लागी बिकासमा नयाँ प्रबिधिको सफलताको पहिलो उदाहरण हुनेछ’, मन्त्री थापाले भन्नुभयो, सरकार जनमुखी काममा लागेको छ, आधारभूत आवश्यकता सँगै समृद्धिका लागी यसले महत्वपूर्ण टेवा पु-याउने छ ।’ मन्त्री थापाले यथाशीघ्र मेलम्ची पानी काठमाडाैं पु-याउने काममा सरकार अहोरात्र लागेको बताउँदै सबैपक्षलाई सो अभियानमा सहयोग पु-याउन आग्रह गर्नुभयो ।
मन्त्री थापाले परीक्षण सफल भएमा मेलम्चीको पानी आगामी १६ दिन भित्र काठमाडौंको सुन्दरीजल पुग्ने जानकारी दिनुभयो । सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन १६ दिन लाग्नेछ । पानी सुन्दरीजलमा पुगेपछि केही दिन सुरुङभित्रै जमाएर सूरुङमा त्रुटी नभएको निश्चित गरिने अनि मात्र खानेपानी बितरण हुने आयोजनाले जनाएको छ । ‘दुई सय ६० लिटर प्रति सेकेन्डका दरले पानी सुरुङमा हालिएको छ’, आयोजनाका प्राबिधिकहले उल्लेख गरेका छन् । परीक्षण सफल भएको खण्डमा अवको दुई महिनामा काठमाडौंका धारमा मेलम्चीको पानी झर्ने छ ।
आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । शुभारम्भ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ लगायतले राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न युद्धस्तरमा काम भैरहेको र मेलम्चीलाई सहज रुपमा अघि बढाउन स्थानीयका सबै जायज मागहरुलाइ पुरा गर्ने बिषयमा पनि छलफल भइरहेको जानकारि गराउनुभयो ।
गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको दश दिनमा हेलुम्बु गाउँपालिका– १ अम्बाथानको अडिटको मुख्य गेट फुटेर परीक्षण असफल भएको थियो । विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच र मर्मत सम्पन्न गरी पानी पठान्तरण सुरु गरिएको आयोजनाले जनाएको छ ।
२२ वर्ष अघि मेलम्ची खानेपानी विकास समिति गठन भई मेलम्ची पानी काठमाडौं पथान्तरण सुरु भएको आयोजना पटक पटकको समय सीमा बढाई गत असारमा निर्माण सम्पन्न भएको हो । पानी पथान्तरण सुरुवात गर्दै नदी बहाब क्षेत्रहरुमा कुनै पनि बेला पानीको बहाब बढ्न सक्ने भएकाले आसपास नदी किनारमा सावधानी अपनाउन आयोजनाले आग्रह समेत गरेको छ ।

 
यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप