logo
२०८१ असोज ८ मंगलवार



व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन

फिचर |
पढ्नै पर्ने |


व्यासको १०८ फिट अग्लो मूर्ति बनाउन बजेट विनियोजन
व्यास नगरपालिकाको कार्यालय परिसरमा राखिएको व्यासको १०८ फिटको नमूना मूर्ति


अमरराज नहर्की
तनहुँ, फागुन १६ गते । तनहुँको सदरमुकाम दमौलीमा १०८ फिट अग्लो व्यासको मूर्तिसहितको पूर्वाधार निर्माणका लागि सहज भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वजेटको व्यवस्था गरी मूर्ति निर्माणका लागि साझेदारी गर्ने भएपछि सहज भएको हो ।
मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार १०८ फिट व्यासमूर्ति निर्माण योजनाका लागि रु चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लागत साझेदारीमा सम्बन्धित स्थानीय तहले रु दुई करोड ४५ लाख व्यहोर्नुपर्ने गरी मन्त्रालयले हालै वजेटको व्यवस्था गरेपछि निर्माण सहज भएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
यस कार्यको व्यास नगरपालिकाले रु एक करोड ५० लाख बजेट यस अगावै विनियोजन गरिसकेको अवस्थामा मन्त्रालयले चासो दिएर वजेट विनियोजन गरेकाले उत्साह जागेको व्यास क्षेत्र शिव पञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । कोषले केही समय अगाडि महायज्ञ लगाएर रु तीन करोड ४८ लाख रकम बचत गर्न सफल भएको र उक्त रकम कार्य अघि बढाउन व्यास नगरपालकालाई हस्तान्तरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

मूर्ति निर्माणका लागि नगरपालिकाद्धारा चाँडै नै बोलपत्र आह्वान गरिने भएको व्यास नगरपालिकाले जनाएको छ ।
गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको छ । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउराली नगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु १० लाखको लागतमा मुख्य प्रवेशद्वारको केही काम गरिसकिएको कोषका अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोडको गुरु योजना बनाइएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो ।
मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न त्यतिबेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । सो रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । चार वेद १८ पुराणका रचयिता व्यासको जन्म दमौलीमा भएको हिन्दु धर्मावलम्बीहरु विश्वास गर्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?