logo
२०८१ असोज ८ मंगलवार



बाँके निकुञ्जका ३५४ जनावरले सडक पार गर्दा दुर्घटनामा ज्यान गुमाए

फिचर |
पढ्नै पर्ने |


बाँके निकुञ्जका ३५४ जनावरले सडक पार गर्दा दुर्घटनामा ज्यान गुमाए


सिराज खान
नेपालगञ्ज, चैत २ गते । बाघको संरक्षण गर्ने उदेश्यले स्थापना गरिएको देशकै कान्छो निकुञ्जका रुपमा रहेको बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्ग वन्यजन्तु मैत्री नहुँदा गत सात वर्षको अवधिमा ३५४ वटा जनावरले दुर्घटनामा ज्यान गुमाएछ ।
सात वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटनाका कारण ३५४ वटा वन्यजन्तु मारिएको निकुञ्जका सुचना अधिकारी महेश न्यौपानेले बताउनुभयो ।
सुचना अधिकारी न्यौपानेका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा २४, २०७२/०७३ मा ५०, २०७३/०७४ मा ८३, २०७४/०७५ मा ७२, २०७५/०७६ मा ३२, २०७६/०७७ मा ६३ र २०७७/०७८ को हालसम्म ३० वन्यजन्तु सडक दुर्घटनामा मारिएका छन् ।
राजमार्ग वन्यजन्तु मैत्री नहुँदा वन्यजन्तुको मृत्यु हुने क्रम जारी रहेको जनाउँदै न्यौपानेले आहारा तथा पानीको कमीका कारण वन्यजन्तु निकुञ्ज बाहिर आउने गर्दा सडक पार गर्ने क्रममा दुर्घटनामा पर्ने गरेको बताउनुभयो ।
निकुञ्जभित्र रहेको सडकमा गुड्ने यातायातका कारण दुर्घटनामा परेर वन्यजन्तुको ज्यान जान थालेपछि यातायातको गति ४० किलोमिटर प्रतिघण्टा निर्धारण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभयो ।
उहाँले सोभन्दा बढी गतिमा गाडी चलाउनेमाथि कारवाही गरिए पनि दुर्घटना नरोकिएकोमा चिन्ता प्रकट गर्नुभयो । जनावरलाई सडक दुर्घटनामा पर्नबाट जोगाउन केही ठाउँमा आकाशे पुल बनाईएको पनि प्रमुख शाहले बताउनुभयो ।
दुर्घटनाका साथै निकुञ्जका वन्यजन्तुको तस्करी बढेको छ । बाँके राष्ट्रिय निकुञ्जले हालसम्म वन्यजन्तु सम्बन्धी ७५ वटा मुद्दा दायर गरेको छ । जसमध्ये अदालत पु्गेका मुद्दाको संख्या ३८ र निकुञ्जमै दर्ता रहेको मुद्दा संख्या ३८ छन । हालसम्म दर्ता भएका मध्ये ६३ मुद्दा फस्र्यौट भैसकेका छन् ।
निकुञ्जमा रहेका वन्यजन्तुका कारण आसपासमा रहेका बस्तीमा धानबाली तथा मानवीय क्षति हुने गरेको निकुञ्जले जनाएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्म निकुञ्जले राहतका लागि ५६ लाख ४ हजार ७८ रुपैयाँ वितरण गरेको निकुञ्जका सुचना अधिकारी न्यौपानेले बताउनुभयो ।
निकुञ्जमा वन्यजन्तुको आहारा बढाउने, पानीको व्यवस्थापन गर्ने, चोरी शिकारी नियन्त्रणका लागि निगरानी गर्ने, वन्यजन्तुको व्यवहार अध्ययन गर्ने कार्य भैरहेको उहाँले बताउनुभयो ।
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर र रत्नराजमार्ग ३० किलोमिटर क्षेत्र पर्छ । ५५० वर्गमिटर क्षेत्रफलमा फैलिएको सो निकुञ्ज बाँके, सल्यान र दाङसँग जोडिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?