logo
२०८१ असोज ८ मंगलवार



नेपालगञ्ज नाकामा कडाई,अनावश्यक आवागमनमा रोक

फिचर |
प्रदेश |


नेपालगञ्ज नाकामा कडाई,अनावश्यक आवागमनमा रोक
तस्विरः सिराज खान


सिराज खान
नेपालगञ्ज, चैत १३ गते । भारतमा दोस्रो चरणको कोरोना संक्रमण बढेसंगै यहाँस्थित नेपाल भारत सीमानाको जमुनाह नाकामा शुक्रवारबाट कडाई शुरु गरिएको छ । भारतमा कोरोना बढे पछि नेपालमा पनि फैलिन सक्ने आशंकामा सीमानामा हुँदै आएका अनावश्यक आवागमनलाई बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले गृहमन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पत्र आए लगत्तै नेपाल भारत सीमानामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण शुरु गर्नुका साथै अनावश्यक आवागमनलाई बन्द गरिएको बताउनुभयो । शुक्रवारदेखि उपचार वा अति आवश्यक काम बाहेक सीमापारी सामान किनमेल  र अन्य सामान्य कामले आउने जानेलाई रोकिएको प्रजिअ कुरुम्वांगले बताउनुभयो ।

अनावश्यक आवागमनलाई बन्द गरिएपछि नाकामा आवागमन गर्नेहरुको भिड् लागेको जमुनाह प्रहरी कार्यालयले जनाएको छ । जमुनाह प्रहरी कार्यालयका प्रमुख सई विष्णु गिरीले नाकामा हुँदै आएको अनावश्यक आवगमनमा कडाई गरिएपछि नाकामा भिड् लागेकोले व्यवस्थापनमा समस्या भएको बताउनुभयो ।

भारतबाट फर्किएका एक युवकमा संक्रमण पुष्टि, एण्टिजिन परीक्षण 

नाकामा हेल्थ डेस्क राखेर शंका लागेकाहरुको एण्टिजिन परीक्षण शुरु गरिएपछि शुक्रवार भारतको गुजरातबाट फर्किएका रोल्पा लिवांगका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

कोरोना संक्रमण फैलिएका ठाउँबाट फर्किएका नेपालीको एण्टिजन परीक्षण गर्ने क्रममा ती युवकमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले बताउनुभयो । उहाँले ती युवकलाई एम्बुलेन्समा राखेर रोल्पा पठाईएको पनि बताउनुभयो । अन्यहरुको परीक्षण गर्दा सबैको रिपोर्ट नगेटिभ देखिएको र परीक्षण गर्ने कार्य भैरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?