logo
२०८१ असोज ७ सोमवार



मौरीपालनबाट वार्षिक साढे चारलाख आम्दानी गर्दै थापा

फिचर |
पढ्नै पर्ने |


मौरीपालनबाट वार्षिक साढे चारलाख आम्दानी गर्दै थापा


सिराज खान
नेपालगञ्ज, चैत २३ गते । बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरीका थलबहादुर थापाले मौरीपालन गरेर वार्षिक साढे चार लाख रुपियाँ  मुनाफा हासिल गरिरहनुभएको छ ।
एक दशक अघि चितवनमा आफन्तको घरमा जाँदा मौरीपालन गरेको देखेर बाँकेमा आई मौरीपालन शुरु गर्नुभएका थापाले घरमै बसेर बार्षिक ६ लाख रुपियाँको मह बिक्री गरी साढे चार लाख रुपियाँ चोखो नाफा कमाउने गरेको बताउनुभयो ।
थापाले अहिले तारा मौरी फर्म खोलेर व्यवसायिक रुपमा ७५ घारसम्म मौरी पाल्दै आईरहनु भएको छ । उतिबेला रहरमै सुरु गरे पनि मौरी पालनवाट राम्रो आम्दानी हुनुका साथै तालिम लगायत अन्य सहयोग प्राप्त हुन थालेपछि २०७० सालदेखि लगानी विस्तार गरी व्यवसायिक मौरी पालन शुरु गरेको उहाँ बताउनुहुन्छ ।
अहिले वार्षिक १० क्विन्टल मह उत्पादन गरेर ६ लाख रुपियाको बिक्री गर्ने गरेको जनाउँँदै उहाँले सबै खर्च कटाएर वर्षमा साढे चार लाख रुपैया मुनाफा हुने गरेको बताउनुभयो ।
पछिल्लो समय महको माग बढ्दै गएपछि बजारको समेत अभाव नभएको उहाँको भनाइ छ । उहाँले महको माग जिल्लाका विभिन्न स्थानबाट अत्याधिक रहेको पनि बताउनुभयो ।
माग अनुसार मह उत्पादन गर्न नसकिएको बताउँदै थापाले यो व्यवसायमा बेरोजगार युवा लगायत अन्य कृषकहरु लागेर परिपूर्ति गर्न सकिने ठूलो सम्भावना रहेको जनाउनुभयो ।
पैसा कमाउन जागिर नै खानुपर्छ, या त विदेश नै जानुपर्छ भन्नेका लागि थलबहादुर उदाहरणीय पात्र बनेका छन् । उनले इच्छाशक्ति भए थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने प्रमाणित गर्नुभएको छ ।
थोरै लगानी, कम मेहेनत र सानो क्षेत्रफलमा सजिलैसँग गर्न सकिने भएकोले नेपालमा मौरीपालन व्यवसायको राम्रो सम्भावना छ ।
पछिल्लो समयमा कोरोना महामारीका कारण धेरै युवाहरु बेरोजगार भई बसिरहेका बेला गाउँ घरमै स्वरोजगार बन्न सकिने मौरीपालन व्यवसाय गरी युवाहरुलाई आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ छ ।
सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा स्वरोजगारमूलक व्यवसायलाई प्रोत्साहन गरी यस्तो व्यवसायतर्फ युवाहरुलाई आकर्षीत गर्न जरुरी रहेको जनाउँदै थापाले यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको कुरामा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?