logo
२०८१ असोज ७ सोमवार



गम्भीर सङ्क्रमितले भेरी अस्पताल भरियो: तीन दिनमा १४० जना सङ्क्रमित थपिए

फिचर |
पढ्नै पर्ने |


गम्भीर सङ्क्रमितले भेरी अस्पताल भरियो: तीन दिनमा १४० जना सङ्क्रमित थपिए


सिराज खान
नेपालगञ्ज, चैत ३१ गते । बाँकेमा एक्कासि लक्षणसहितका कोरोना सङ्क्रमितहरु बढ्न थालेपछि भेरी अस्पतालमा रहेको यस क्षेत्रकै सबैभन्दा ठूलो कोभिड वार्डमा ठाउँ अभाव भएको छ । अस्पतालमा ठाउँ अभाव भएपछि बिरामी कहाँ राख्ने भन्ने ठूलो समस्या उत्पन्न भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
भेरी अस्पतालको कोरोना वार्डमा गम्भीर अवस्थाका बिरामी राख्ने १० वटा आइसियु र १० वटा भेन्टिलेटर वेड मात्र रहेकोमा हाल त्यहाँ ४० जना गम्भीर अवस्थाका बिरामीह रहेकोले उनीहरुको उपचारमा समस्या भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
फोकल पर्सन ओलीका अनुसार बाँकेमा मंगलवार पनि ५९ जना सङ्क्रमित थपिएका छन् । यी ५९ जनासंगै गत तीन दिनको अवधिमा मात्रै जिल्लामा १४० जना सङ्क्रमित थपिएका छन् ।
पछिल्लो समयमा थपिएका सबै सङ्क्रमितहरु लक्षणसहितका विरामी रहेको र तीमध्ये अधिकांशको अवस्था आइसियुमा राखेर उपचार गर्ने खालको रहेको फोकल पर्सन ओलीले बताउनुभयो ।
उहाँले अहिलेकै बिरामीको कहाँ उपचार गर्ने भन्ने समस्या भएको बेला भोलीबाट थपिने बिरामीलाई कहाँ राख्ने भन्ने ठूलो चिन्ता थपिएको बताउनुभयो ।
यसैबीच जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले नेपाालगञ्ज मेडिकल कलेजको कोहलपुर र नेपालगञ्ज शिक्षण अस्पतालमा रहेका कोभिड वार्डहरुलाई पुनः सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।
जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भेरी अस्पतालमा विरामी राख्ने ठाउँ नबचेपछि मेडिकल कलेजलाई वार्ड सञ्चालनमा ल्याउन आग्रह गरिएको बताउनुभयो ।
सो बारेमा जानकारी माग्दा नेपालगञ्ज मेडिकल कलेज व्यवस्थापनले वार्ड सञ्चालन गर्न आफहरू सकारात्मक भएको जनाउँदै तर यस अघि सङ्क्रमितको उपचार गरे वापतको रकम सरकारले हालसम्म पनि उपलब्ध नगराएकोले समस्या परेको बताउनुभयो ।
सोही प्रकारले जिल्लामा रहेका विभिन्न पालिकाहरुलाई पनि विगतमा रहेका आइसोलेसनहरु सञ्चालनमा ल्याउन आग्रह गरिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार हाल भेटिने गरेका संक्रमितहरु सबै लक्षणसहितका रहेकोले उनीहरुलाई आइसोलेसन अस्पतालमै राखेर उपचार गर्नुपर्ने देखिएकोले सोको व्यवस्था नहुँदा ठूलो समस्या भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?