सिराज खान
नेपालगञ्ज, वैशाख १६ गते । बाँकेको भेरी अस्पताल र मेडिकल कलेजमा उपचार गराइरहेका थप आठ जना सङ्क्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । उनीहरुको मृत्यु गए राती ९ बजेदेखि बिहीबार बिहान ८ बजे भित्र भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका अनुसार गएराती ८ः५५ बजे नेपालगञ्ज १३ का ५८ वर्षीय पुरुष सङ्क्रमितको मेडिकल कलेजमा मृत्यु भएको थियो भने त्यसको ठीक ५ मिनेटपछि कोहलपुर ११ निवासी ४३ वर्षीया महिलाको पनि मेडिकल कलेजमै र नेपालगञ्ज ४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको थियो ।
सोही प्रकारले नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराती १० बजे मृत्यु भएको तथा बर्दिया, बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुषको मेडिकल कलेजमा राती १ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
यसैगरि नेपालगञ्ज ५ निवासी ५५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मेडिकल कलेजमा, लम्की चुहा नगरपालिका १ कैलालीका ४३ वर्षीय पुरुषको बिहीबार बिहान ७ः५० बजे तथा खजुरा गाउँपालिका २ का ६७ वर्षिया महिलाको बिहीबार विहान ८ बजे भेरी अस्पतालमा मृत्यु भएको फोकल पर्सन ओलीले बताउनुभयो ।
उहाँका अनुसार कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका मात्रै १०६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका १०९ जनाको मृत्यु भइसकेको छ ।