logo
२०८१ असोज ६ आईतवार



वसन्त आरोहणः कुन हिमालमा कति आरोही

फिचर |
पढ्नै पर्ने |


वसन्त आरोहणः  कुन हिमालमा कति आरोही


काठमाडौँ, वैशाख २३ गते । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामका सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोहीले आरोहण अनुमति लिएका छन् । यसमा ९३ महिला र ३१५ पुरुष छन् । सो याममा सगरमाथाका लागि ४१ आरोही समूहले अनुमति पाएका थिए । यो अघिल्लो सन् २०१९ को वसन्त यामभन्दा बढी हो । सन् २०२० मा वसन्त आरोहण भएन ।
विभागको पर्वतारोहण शाखाका विवरणमा सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष गरी १२५ आरोही छन् । नुप्से (७,८६४ मिटर) मा ३८ र पुमरी (७,१६१ मिटर) मा नौ आरोहीलाई अनुमति दिइएको छ ।
त्यसैगरी गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि आर आरोही समूहका ४४ र धौलागिरि हिमाल (८,१६७ मिटर) मा पाँच आरोही समूहका ३३ आरोही छन् । सङ्खुवासभामा पर्ने मकालु हिमाल (८,८४६३ मिटर) आरोहणका लागि दुई आरोही समूहका २० र गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूहले अनुमति लिएका छन् । तिलिचो हिमाल (७,१३३ मिटर) मा आठ र हिम्लुङ हिमाल (७,१२६ मिटर) मा सात आरोहीलाई अनुमति दिइएको छ ।
यसबीचमा अन्नपूर्ण हिमालमा केही आरोहण भए भने मौसमले साथ दिए अबको केही दिनभित्रै सगरमाथा आरोहण शुरु हुने विभागले जनाएको छ । अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविरमा छन् । सर्वाेच्च सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प ४ मा पुगिसकेका छन् ।
सगरमाथासहितका १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपीडिसन कम्पनीमार्फत पर्वतारोही गन्तव्यमा निस्केका छन् । वसन्त यामको हिमाल आरोहणबाट हालसम्म रु ७१ करोड ४८ लाख भन्दा बढी सलामी सङ्कलन भएकोे छ । सगरमाथाबाट मात्रै करीब रु ६६ करोड रोयल्टी जम्मा भएको छ । कोभिड–१९ महामारीबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?