logo
२०८१ मंसिर ११ मंगलवार



हात धुने प्रयोजनका लागि राखिएका ह्याण्ड वास स्टेशन प्रयोगविहिन

फिचर |
प्रदेश |


हात धुने प्रयोजनका लागि राखिएका ह्याण्ड वास स्टेशन प्रयोगविहिन
तस्विरः केदार तिमल्सिना


केदार तिमल्सिना 
बनेपा, जेठ ४ गते । गत वर्ष कोरोना सङ्क्रमण समयमा स्थानीय तह, विभिन्न सहयोगी संस्थाले कोरोना रोकथामको लागि सार्वजनिक स्थलमा हात धुने (ह्याण्ड वास स्टेशन) आफ्नो तहको सबै स्थानमा डिस्इन्फेक्ट गर्ने जस्ता थुप्रै सह्रानीय कामहरु गरेका थिए ।

काभिडको दोस्रो भेरियन्ट आउँदा भने स्थानीय तह तथा सहयोगी संस्थाले विभिन्न स्थानमा हात धुने प्रयोजनका लागि राखिएका ह्याण्ड वास स्टेशन प्रयोगविहिन भएका छन् । विशेष गरी जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल, मण्डनदेउपुर, नमोबुद्ध नगरको भकुण्डे लगायतका स्थानमा राखिएका ह्याण्ड वास स्टेशन प्रयोगविहिन अवस्थामा रहेका छन् ।

गत वर्ष राखिएका ह्याण्ड वास स्टेशनमा केही समय सर्वसाधारणहरुले साबुन, पानीले हात धोएपनि केही महिनापछि सम्बन्धित पालिकाहरुले खासै चासो नराखेका कारण प्रयोग विहिन बन्न पुगेका हुन् ।
जिल्लाको शहरी क्षेत्र तथा सर्वसाधारणको आवतजावत बढी हुने स्थानमा हात धुने ब्यवस्था गरिएको थियो ।

जिल्लाको विभिन्न स्थानमा सम्बन्धित पालिका, वडा, रोटरी क्लब, शान्ति जन आदर्श सेवा केन्द्र, नाङशाल एसोशियसन लगायतका विभिन्न सामाजिक संस्थाहरुले सार्वजनिक स्थल, बिद्यालयमा हात धुने व्यवस्था मिलाएका थिए ।

सार्वजनिक स्थल, बिद्यालयमा राखिएका हात धुने स्थानमा गत वर्ष कात्तिकसम्म हात धुने बानी भएपनि कोरोना सङ्क्रमण कम भएसँगै स्थानीय पालिका, वडाले खासै ध्यान नदिएको र सर्वसाधारणले पनि अब कोरोना सकियो भन्दै हात धुने बानी कम गरेपछि हात धुने स्टेशन प्रयोगविहिन बनेका हुन् ।

बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले नगरपालिका नगरभित्रका कोभिड बिरामीको उपचार तथा ब्यवस्थापनमा ध्यान दिएका कारण ह्याण्ड वास स्टेशनतर्फ ध्यान नगएको स्विकार गर्नुभयो । उहाँले अहिले नागरिकहरुलाई घर बाहिर निस्कन नदिने निषेधाज्ञा लगाइएका कारण पनि यी स्टेशनमा हात धुने नागरिकको कमी रहेको बताउनुभयो । उहाँले नगरका विभिन्न स्थानमा राखिएका ह्याण्ड वास स्टेशनहरु सञ्चालन गर्ने विषयमा छलफल गरिने बताउनुभयो ।

बनेपाको चारदोबाटोलगायतका स्थानमा राखिएका ह्याण्ड वास स्टेशनमा पानी, साबुन समेत ब्यवस्था नभएको सर्वसाधारणको गुनासो छ ।पनौती नगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारीले नगरपालिकाभित्र विभिन्न स्थानमा राखिएका ह्याण्ड वास स्टेशन प्रयोगविहिन बनेको स्विकार गर्नुभयो ।

उहाँले आम नागरिकमा कोभिड सकियो अब किन हात धुनु भन्ने भावना विकास भएका कारण पनि यी स्टेशनहरु प्रयोगविहिन बनेको बताउनुभयो ।उहाँले नगर विपद् समितिको बैठकमा सम्बन्धित वडामा रहेका ह्याण्ड वास स्टेशनमा रहेका ट्याङ्कीमा पानी, साबुनलगायत आवश्यक सामाग्रीको व्यवस्थापन वडा कार्यालयले नै गर्ने निर्देशन भएको बताउनुभयो ।

नाङशाल एसोशियसन काभ्रेका कार्यकारी निर्देशक गुणराज मोक्तानले गत वर्ष संस्थाले खानीखोला, बेथानचोक गाउँपालिकाका ६८ बिद्यालय र नमोबुद्ध नगरपालिकाका ११ बिद्यालयमा ह्याण्ड वास स्टेशन राखिए पनि केही महिनापछि प्रयोगविहिन बनेको बताउनुभयो ।

उहाँले गत वर्ष कात्तिक महिनासम्म ह्याण्ड वास स्टेशनमा हात धुने काम भएपनि कोभिड कम भएसँगै हात धुने बानी हटेको बताउनुभयो ।उहाँले अहिले बिद्यालयहरु बन्द रहेका कारण अब बिद्यालय खुलेपछि भने फेरी पनि हात धुने बानी विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्लाका अधिकाँश पालिकाहरुले आफ्नो पालिकाभित्र विभिन्न स्थानमा हात धुनका लागि राखिएका ट्याङ्कीमा हात धुने पानी, साबुनको ब्यवस्था नगर्दा सर्वसाधारणले हात धुन खोज्दा समेत हात धुन पाएका छैनन् भने कुनै पालिकाले पानी, साबुनलगायतका सामाग्री व्यवस्था गरेपनि कोरोना सकियो किन हात धुनु भन्ने भावनाका कारण पनि ह्याण्ड वास स्टेशन प्रयोगविहिन बनेका हुन् ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?