logo
२०८१ असोज ५ शनिवार



सुनसरीको भाण्टाबारीमा तीन सवारी एकआपसमा जुद्धा तीन जनाको मृत्यु

फिचर |
पढ्नै पर्ने |


सुनसरीको भाण्टाबारीमा तीन सवारी एकआपसमा जुद्धा तीन जनाको मृत्यु
सांकेतिक तस्बिर


जयकृष्ण यादव 
इनरुवा, असार १३ गते । सुनसरीको कोशी गाउँपालिका ८ नम्बर वडाको भाण्टाबारी र हरिपुर चोकबीच सडक खण्डमा तीन सवारी एकआपसमा जुद्धा तीन जनाको घटनास्थलमा मत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भाण्टाबारी क्षेत्रमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान करिब साढे ७ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायसले विपरीत दिसाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर अर्को पश्चिमबाट आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअपलाई समेत ठक्कर दिँदा पिकअप चालक र मोटरसाइकलमा सवार दुई जनासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी पिकअप चालक मोरङको विराटनगर महानगरपालिका–७ का ३५ वर्षीय अक्षयकुमार गुप्ताको स्टेरिङमा च्यापिएर मृत्यु भएको छ । तरकारी खरिद ढुवानी गर्न हिँडेका हुनसक्ने उहाँको गोजीबाट १ लाख ७५ हजार रुपियाँ नगद पनि प्रहरीले फेला पारेको छ ।
सोही हायसले ठक्कर दिएको मोटरसाइकलमा सवार दुई जनाको पनि घटनास्थलमै बीभत्स तरिकाले मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि बस्ने मोरङ विराटनगर ९ का ४५ वर्षीय रामप्रसाद शाहा र सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ का उद्य साह रहनुभएको छ । हायस चालक विदुर नगरपालिका ३ नुवाकोटका ३५ वर्षीय विवश तामाङ र सोही स्थान बस्ने सहचालक नारायण बस्यालसहित दुई जना घाइते भएका छन् भने सह–चालक बस्नेतको खुट्टा भाँचिएको छ ।
दुर्घटना पूर्वबाट जाँदै गरेको हायसको तीव्र गतिको कारण भएको घटनाको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । पहिले मोटरसाइकललाई ठक्कर दिएर हायस पिकअपमा ठोक्किन पुगेको देखिएको प्रहरीको भनाइ छ । सो दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?