logo
२०८१ असोज ५ शनिवार



पर्यटकलाई आकर्षित गर्न तनहुँमा च्यवनधाम कृत्रिम हिमाल निर्माण

फिचर |
पढ्नै पर्ने |
पर्यटन |


पर्यटकलाई आकर्षित गर्न तनहुँमा च्यवनधाम कृत्रिम हिमाल निर्माण


अमरराज नहर्की
तनहुँ, असार १४ गते । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको झल्को दिने गरी डिभिजन वन कार्यालय तनहुँद्वारा यहाँको एक धार्मिकस्थलमा कृत्रिम हिमाल निर्माण गरिएको छ । पर्यटक अाकर्षित गर्न लागि शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम परिसरमा कार्यालयले निर्माण गरेको हो ।
च्यवनधाममा १०८ धारा माथि माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण लगायतका हिमालको आकृति कुँदिएको छ । धाम परिसरको सौन्दर्य अभिवृद्धिको लागि कृत्रिम हिमाल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । यस कार्यको लागि गण्डकी प्रदेश सरकारले २० लाख आर्थिक सहयोग गरेको र स्थानीयको १० प्रतिशत लागत सहभागिता रहेको छ । कृत्रिम हिमश्रृङ्खला र १०८ धारा निर्माणपछि ‘‘मिनी मुक्तिनाथ’’ उपनामले चिनिन थालेको मुक्तिनाथ शुक्लागण्डकी च्यवनधामका अध्यक्ष सुमेन्द्र लालचन बताउनुभयो । वि.सं. २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले हडपेर २३ रोपनी जमिनमा बस्ती बसाउन खोजेपछि स्थानीय वासिन्दाको सक्रियतामा धाम निर्माण कार्य अघि बढाईएको थियो । सार्वजानिक जमिनको संरक्षण गरी पर्यटकीय पूर्वाधारहरु निर्माण गर्न सबै एकजुट भएपछि सहज भएको धामका सचिव दुर्गादत्त सापकोटाले बताउनभुयो । सेती नदीको तीर तपोभूमि भएकाले धार्मिक तीर्थस्थल बनाउने उद्धेश्यले पूर्वाधार निर्माणको लागि खर्च जुटाउन तीन वर्ष अघि महायज्ञ गरी रु. एक करोड ५० लाख सङ्कलन गरिएको सचिव सापकोटाले बताउनुभयो । रकम सङ्कलन भएपछि मन्दिरमा पूर्वाधार निर्माणको काम शुरु भएको उहाँले बताउनुभयो । च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेव मन्दिर छ । मन्दिरको छानो तामाको राखिएको छ । शुक्लेश्वरको आसपासमा सूर्यनारायण, लक्षमीनारायण, दुर्गा भवानी र गणेशको मन्दिर छ । यहाँ मुक्तिनाथकै झल्को दिने एक सय आठ धारा, एक सय आठ ओमकार कल्पवृक्ष, एक सय आठ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्क लगायतका संरचना छन् ।
च्यवनधाम परिसरमा बौद्ध गुम्बा छ । एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न गुम्बा निर्माण गरिएको धाम व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार मन्दिर क्षेत्रमा एक दशकको अवधिमा रु. तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी गरिएको छ । उक्त रकम दान सङ्कलनसँगै सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पनि उपलब्ध गराएका छन् । “च्यवनधाममा पूर्वाधार थप्दै गएपछि आन्तरिक पर्यटकको उत्कृष्ठ केन्द्र बन्ने विश्वास गरेका छौं’’ समितिका उपाध्यक्ष अर्जुन लम्सालले भन्नुभयो । धाम क्षेत्रमा मिनी चिडियाखाना बनाउने दीर्घकालीन योजना बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?