logo
२०८१ असोज ५ शनिवार



अविरल वर्षाका कारण सर्लाहीमा सीडीओ कार्यालय र प्रहरी चौकी डुबानमा

फिचर |
पढ्नै पर्ने |


अविरल वर्षाका कारण सर्लाहीमा सीडीओ कार्यालय र प्रहरी चौकी डुबानमा


जनार्जन खत्री
सर्लाही, असार १८ गते । मङ्गलवार रातीदेखि भइरहेको अविरल वर्षाका कारण सर्लाहीमा डुबानको समस्या सुरु भएको छ । वर्षाको पानीले सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय नै डुबानमा परेको छ । कार्यालय डुबानमा परेपछि सेवा प्रवाहमा समस्या भएको निमित्त प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिनुयभो ।

निषेधाज्ञाका कारण करिव दुई महिनापछि वुधवारदेखि मात्रै कार्यालय सन्चालनमा आएको थियो । कार्यालय परिसर र सम्पूर्ण कोठा जलमग्न भएपछि अत्यावश्यक बाहेक सेवाग्राहीका अन्य काम गर्न नसकिएको निमित्त प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय परिसरमा घुँडासम्म आउने गरी पानी जमेको छ । ‘कार्यालयको कोठाभित्रसम्म घुँडाघुँडासम्म पानी जमेकाले फाइलिङ गरेर राखेका कागजात जोगाउनै मुस्किल परेको छ, निमित्त प्रजिअ पोखरेलले भन्नुभयो, ‘पानीको निकासको व्यवस्था मिलाइदिन नगरपालिकासँग आग्रह गरेको छु ।’
पोखरेलका अनुसार मङ्गलवार राती देखिकै वर्षाले जिल्ला प्रशासन कार्यालय डुबानमा परेको हो । पानीको निकास नहुने र गहिरो ठाउँमा रहेकाले जिल्ला प्रशासन कार्यालय यसरी बर्सेनि डुबानमा पर्ने गरेको छ ।
यस्तै, वर्षाको पानीले चक्रघट्टा गाउँपालिका–८ मा रहेको प्रहरी चौकी औरही डुबानमा परेको छ । चारैतिर अग्ला घरहरु बनेकाले गहिरो भागमा रहेको चौकी डुबानमा परेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभयो ।
त्यसैगरी, मलङ्गवा नगरपालिका–८, मा रहेको प्रहरी चौकी खुटौना पनि डुबानमा परेको छ । ‘पानीको निकास नभएकाले चौकीहरु डुबानमा परेका छन्, पम्पिङसेट लगाएर पानी फाल्ने प्रयास गर्दैछौँ, प्रहरी उपरीक्षक राठौरले भन्नुभयो ।’
मङ्गलवार रातीदेखिको पानीले जिल्लामा पाँच वटा कच्ची घर भत्किएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यसबाहेक अन्य थप क्षति नभएको सर्लाही प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले बताउनुभयो ।
यसैबीच, सदरमुकाम मलङ्गवा नगरपालिका–५, भाडसरमा मङ्गलवार राती देखिनै करिव तीन दर्जन घरहरु डुबानमा परिरहेका छन् । घरमा पानी पसेपछि स्थानीयहरुले छिमेकीको घरमा शरण लिएर बसिरहेका वडाध्यक्ष मनोजकुमार सहनीले जानकारी दिनुभयो ।
सदरमुकाम मलङ्गवादेखि पूर्व सङ्ग्रामपुर र पश्चिम बलरासम्म जाने जीर्ण अवस्थाको पूर्व–पश्चिम हुलाकी सडक हिलाम्मे र जलमग्न बनेको छ । यसैगरी, जिल्लाका अन्य भित्री सडक पनि वर्षाको पानीले जलमग्न भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?