logo
२०८१ असोज ४ शुक्रवार



कोरोना घटेसँगै कामका लागि भारत जाने नेपालीको सीमानामा लर्को

फिचर |
पढ्नै पर्ने |


कोरोना घटेसँगै कामका लागि भारत जाने नेपालीको सीमानामा लर्को


सिराज खान
नेपालगञ्ज, असार २३ गते । भारत र नेपाल दुबै देशमा कोरोना संक्रमण घट्दै गएपछि फेरी एक पटक ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि भारत जान थालेका छन् ।
कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका हजार भन्दा बढी युवा दैनिक रोजगारीका लागि भारततर्फ गैरहेको यहाँस्थित नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सई सन्तोष खनालले केही दिन यता आएर फेरी दैनिक भारतजाने नेपालीको लर्को सीमानामा लागिरहेको बताउनुभयो । उहाँले अहिले दैनिक एक हजार भन्दा बढी नेपाली युवा कामका लागि भारततर्फ गैरहेको जनाउनुभयो ।
जमुनाह प्रहरीका अनुसार केही समय अघिसम्म भारतबाट फर्किने नेपालीको संख्या बढी थियो भने अहिले फेरी भारत जानेको संख्या अत्याधिक बढेको छ ।

स्वदेशमा काम नपाउँदा भारत जान बाध्य छौं–नेपाली युवा
कोरोना पुर्ण रुपमा नियन्त्रणमा नआएपनि नेपालमा काम नपाएपछि बाध्य भएर फेरी कामका लागि भारत जानु परेको सीमानामा भेटिएका अधिकांश युवाको भनाई छ ।
भारतमा कोरोना बढेपछि तीन महिना पहिले मात्रै नेपाल फर्किएका जाजरकोट पाँचकाटियाका रमेश बहादुर सिंहले स्वदेशमा कुनै काम नै नपाएर भोकै बस्ने अवस्था आएपछि बाध्य भएर फेरी भारत जान थालेको बताउनुभयो ।
उहाँले कोरोनाको त्रास बाँकी नै रहेपनि खान नपाउने अवस्था आएपछि मृत्युको परवाह नगरि भारत जान थालेको बताउनुभयो । सिंहसंगै १६ जना युवा भारतको गुजरात गाँधीनगरतर्फ लागेका हुन् ।
यस्तै सल्यान थारमारेका राजकुमार थापाले आफ्नो देशमा काम र माम पाईएको भए अर्काको देशमा हन्टर खान जाने शौख कसलाई नभएको बताउनुभयो । उहाँले कोरोनाले भन्दा खान नपाएर ज्यान जाने खतरा बढेपछि ज्यान हत्केलामा राखेर भारतको यात्रामा निस्किएको बताउनुभयो ।
सोही प्रकारले कालिकोट मान्मका काले तामांगले आफ्नो देशमा आफन्तहरुसंग बस्ने तथा रमाउने रहर सबैलाई हुने बताउँदै तर रोजगारीको अभावले जवानी भारतमा बिताउने आफुहरुको नियतिनै बनिसकेको बताउनुभयो ।
नेपालमा बसेर दैनिक गुजारा गर्ने समस्या भएपछि बाध्य भएर कामका लागि भारतीय भूमी रोजेको नाकामा भेटिएका अधिकांश युवाको दुखेसो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?