logo
२०८१ असोज ४ शुक्रवार



घामका किरण हानिकारक पनि !

फिचर |
शनिवार |


घामका किरण हानिकारक पनि !


नारायण भट्टराई

सन् १९३० को दशकमा एकजना अस्ट्रेलियन रसायनशास्त्रीको हिमाल चढ्ने क्रममा छालाको रङ बिग्रियो । यो घटनापछि अनुहार तथा हात–खुट्टाको छालालाई जोगाउन रसायनको प्रयोग गर्नुपर्छ भन्ने विषय विश्वमा विकसित हुन थाल्यो । छालालाई जोगाउन आज हजारौँ कम्पनीका हजारौँ थरीका उत्पादन बजारमा छन् । विशेषगरी घामबाट जोगाउन विभिन्न थरीका रासायनको उत्पादन भइरहेका छन् । यी रसायनलाई हामी सनस्क्रिन, सनब्लक अथवा सनटान लोसन भनेर चिन्छौँ । इतिहासमै पहिलोपटक सेन्थेटिक सनस्क्रिन सन् १९२८ मा प्रयोग भएको पाइन्छ । तर, यसको व्यापारिक प्रयोग भने सन् १९३८ पछि मात्र भएको देखिन्छ । सन् १९४४ मा बेन्जामिन ग्रिनले विश्वयुद्ध लडिरहेका सैनिकलाई ‘रेड भेट पेट’लाई सनस्क्रिनका रूपमा प्रयोग गरेका थिए ।
हाम्रो स्वास्थ्यमा घामले प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध राख्छ । हामीले सुनेका पनि छौँ र पढेका पनि छौँ, घाम हाम्रो शरीरको भिटामिन ‘डी’को प्रमुख स्रोत हो । हामीले खाएको कुरामा भएको क्याल्सियमलाई आन्द्राबाट सोसेर रगतसम्म पु¥याउने काम भिटामिन ‘डी’ले गर्छ । क्याल्सियमले हड्डीको विकास गर्न प्रमुख भूमिका खेल्छ । यसका लागि बिहान नौ बजेभन्दा अघि हप्तामा दुई/तीन दिन १५/२० मिनेटमात्र घाम ताप्दा पनि पुग्छ । तर, नौ बजेदेखि चार बजेबीचको घामको किरण भने हाम्रो छालाका लागि हानिकारक हुन्छ । घाममा विभिन्न किसिमका किरण हुन्छन् । जसलाई हामी युभिए, युभिबी र युभिसी भन्छौँ । जुन किरण हाम्रो छालाका लागि हानिकारक हुन् । यी किरणमध्ये युभिसी पृथ्वीको सतहसम्म आउन पाउँदैन किनकि यो ओजन तहमै सोसिन्छ । जुन छालाको क्यान्सर गराउने किरणका रूपमा पनि चिनिन्छ । युभिए र युभिबी भने पृथ्वीको सतहसम्म आइपुग्छन् । यी किरणले छालामा विभिन्नप्रकारका समस्या ल्याउँछन् । जस्तै– युभिएले छालालाई कालो बनाउँछ भने युभिबीले छाला रातो हुने तथा बिबिरा आउँछ । युभिबीलाई छालालाई छिटो बुढ्यौली बनाउने किरणका रूपमा पनि चिनिन्छ । युभिबी किरण युभिए किरणभन्दा छालाको क्यान्सर बनाउनमा बढी जिम्मेवार भएको पाइन्छ । युभिए किरण बढी परावर्तन (रिफ्लेक्ट) हुने गर्छ । परावर्तनपछिको किरण सिधा किरणभन्दा बढी हानिकारक अथवा छालालाई कालो बनाउनेखालको हुन्छ । त्यसैले हिमालमा जाँदा, पौडीपोखरीमा जाँदा केही समयमै छाला कालो भएको देख्न सक्छौँ किनभने ती ठाउँमा किरण परावर्तन हुने गर्छ ।
छालामा हुने क्यान्सरलाई मुख्य रूपमा दुईप्रकारमा विभाजन गरिएको छ । ती हुन्– मेलानोमा र ननमेलानोमा । मेलानोमा क्यान्सर उन्नाइसौँ स्थानमा छ । विश्वका २० वटा विकसित देशमा सन् २०१८ मा तीन लाख व्यक्ति यो क्यान्सरबाट पीडित भएका थिए । ननमेलानोमा भने पाँचौँ स्थानमा छ । यसबाट यिनै विकसित देशमा यही समयमा दस लाख व्यक्ति पीडित भएका थिए । अविकसित देशको तथ्याङ्क भने बाहिर आउन सकेको छैन । खोजी गर्ने हो भने यहाँको तथ्याङ्क पनि डरलाग्दो आवस्थामा रहेको अनुमान गर्न सकिन्छ । यसले के देखाउँछ भने छालाको क्यान्सर हुनुमा ५० प्रतिशतभन्दा बढी घामका कारण रहेको छ । अन्य कारणमा वंशाणुगत, विभिन्न रसायनसँग लामो समयसम्म सम्पर्कमा रहनु, अखाद्य वस्तु खाद्य वस्तुसँगको मिसावट, आधुनिक प्रविधिमा प्रयोग हुने रेडियसनमा लामो समयसम्मको उपस्थिति (जस्तै ः एक्स–रे गर्ने प्राविधिक तथा एक्स–रे गरिरहनु पर्ने बिरामी) आदि कारण रहेको पाइन्छ ।
हाम्रो सौन्दर्यका लागि सबैभन्दा प्रमुख अङ्गका रूपमा छालालाई लिइन्छ । त्यसैले पनि होला, छालालाई स्वस्थ राख्न विश्वमा अरबौँ डलर खर्च हुने गरेको छ । क्यामेराको अगाडि अभिनय गर्दा होस् वा सुत्नुअघि होस्, जोकोही आफ्नो छाला एकचोटि ऐनामा हेर्छन् । यसले पनि आफ्नो छाला सुन्दर र स्वस्थ राख्नुपर्छ भन्ने बुझिन्छ । यसका लागि छाला के हो ? छालालाई कसरी स्वस्थ तथा आकर्षक बनाउने ? भन्ने कुरा जानकारी राख्नु अत्यन्त जरुरी छ ।
छाला हाम्रो शरीरभरि ढाकिएको बाहिरी पत्र हो । यो दुई मिलिमिटर बाक्लो हुन्छ । यसको औसत तौल सात पाउन्ड हुन्छ । यसको प्रमुख काम हाम्रो शरीरलाई ढाक्ने नै हो । यसका अन्य सानातिना काम पनि हुन्छन् । छाला विभिन्न पत्रहरू मिलेर बनेका हुन्छन् । तर, साधारणतया बाहिरी भागलाई इपिडर्मिस र भित्री भागलाई डर्मिस भनिन्छ । इपिडर्मिसमा रहेका सबैभन्दा बाहिरी तन्तु (सेल) मर्ने प्रक्रिया चलिरहन्छ । लगभग २० दिनमा मरेर त्यसको ठाउँमा नयाँ तन्तु बन्ने काम भइरहन्छ । त्यसैले छालामा ‘स्क्रब’ गरेर मरेका तन्तु हटाउने काम भइरहन्छ । प्रायः व्युटिसियन तथा छालारोग विशेषज्ञले यो कुरो भनिरहेका हुन्छन् । पुरानो तन्तुलाई नहटाउँदासम्म नयाँ बनेका तन्तुले लगाएका मोस्चराइजर, सनस्क्रिनहरू सजिलै सोस्न सक्दैनन् । छालाले नसोस्दा हामीले स्वस्थ राख्नका निम्ति गरिएका प्रयास खेर जान सक्छन् । छालाको डर्मिस भागमा मेलानोसाइट भन्ने तन्तु हुन्छ । मेलानोसाइट भन्ने तन्तुले मेलानिन भन्ने तŒव उत्पादन गर्छ । यही तŒवले नै छालाको रङ कति कालो र कति सेतो हुने भन्ने कुरा निर्धारण गर्छ । मेलानिन कम उत्पादन हुने छाला सेतो हुने गर्छ भने मेलानिन धेरै उत्पादन भएमा छाला कालो रङको हुने गर्छ । मेलानोसाइटले कति मेलानिन बनाउँछ त भन्ने कुरा धेरै कुरामा भर पर्छ । जस्तो कि जति धेरै घाममा बस्छौँ, त्यति नै मात्रामा मेलानिन उत्पादन भई छालाको रङ कालो हुन्छ । साथै वंशाणुगत गुण, विभिन्न औषधि प्रयोगले पनि मेलानिन उत्पादनमा घटबढ हुन्छ । औषधिमा मुख्य गरी परिवारनियोजनका रूपमा प्रयोग गरिने निलोकन ह्वाइटजस्ता हर्मोन घटबढ बनाउने औषधिले मेलानोसाइट तन्तुलाई मेलानिन बनाउन उत्पे्ररकको काम गरेको पाइन्छ भने कति महिलामा डिप्रेसनको औषधिले पनि यो समस्या देखिएको छ । मेलानिनकै कारण अनुहारमा पोतो (कालो चाया) आउँछ । यो समस्या महिलाको प्रमुख समस्याका रूपमा रहेको पाइन्छ । गर्भवती महिलामा पनि हर्मोन घटबढ हुनाले मेलानिन धेरै उत्पादन भई अनुहार कालो हुन्छ । यो समस्या सुत्केरी भएपछि बिस्तारै आफँै निको भएर जान्छ । महिलाको तुलनामा पुरुषमा यो समस्या कम रहेको छ ।
कतिपय किशोरकिशोरी स्टेरोइडजस्तो हानिकारक रसायन आफूखुसी प्रयोग गरिरहेका हुन्छन् । स्टेरोइड पनि हर्मोन घटबढ गर्ने औषधि हो । यसलाई छालामा आउने पोतो (कालो चाया) हटाउन प्रयोग गर्छन् । जुन छालाका लागि हानिकारक पनि मानिन्छ । उपभोक्तामा सचेतनाको कमीले छालाको समस्या यसरी दिनानुदिन विकराल बन्दै गएको छ । औषधि पसलेले हाइड्रोकोट्रिजोन, क्लोबेटासोल, बेटामेथाजोन, ट्राइमासिनोलोन, मोमेटासोन, हाइड्रोक्लोरोक्विन आदि रसायन मिश्रित मलम दियो भने हामी सचेत हुनुपर्छ । स्टोरोइडले मुख्य रूपमा छालालाई पातलो बनाउँदै लगेर इपिडर्मिस भाग नै समाप्त पारिदिन सक्छ । छालालाई अधिकतम संवेदनशील बनाइदिनुका साथै छालाबाट सोसिएर रगतमा पुगी शरीरमा हर्मोन घटबढ गरिदिने खतरा पनि हुन सक्छ ।
अब कुरा गरौँ छालालाई घामका हानिकारक किरणबाट बचाउने विज्ञानको एउटा वरदानतर्फ जसलाई हामीले सनस्क्रिन भन्छौँ । विश्व बजारमा सन् १९३८ देखि यसको प्रयोग भएको हो । तर, नेपाली बजारमा भने सन् १९९० को दशकमा कताकति प्रयोग भएको पाइन्छ । सन् २००० पछि भने यसको व्यापक प्रयोग हुन थाल्यो । छालालाई घामको किरणबाट बचाउन यो रसायन बजारमा विभिन्न कम्पनीका छन् । अचेल बजारमा धेरै राम्रा सनस्क्रिन पाइन्छ । बुझेर होस् वा नबुझीकन आममानिसमा घामबाट बच्न सनस्क्रिन लगाउनुपर्छ भन्ने बुझाइ रहेको छ । तर, यसको प्रयोग तथा केही आधारभूत कुरामा भने मानिस गल्ती गरिरहेका पनि छन् । गल्ती गर्दा सकारात्मकभन्दा नकारात्मक असर बढी गरिरहेको हुन्छ । सन् २०१८ मा रिभोलुक नामक सनस्क्रिन उत्पादक कम्पनीले गरेको सर्वेक्षणमा ४५० जनामध्ये दुई सयभन्दा बढीले यसको रेटिङ सिष्टम तथा यसको क्रिमजेल र लोसनका बारेमा नबुझेको पाइएको थियो । सनस्क्रिनको रेटिङ तथा यसको कुन फर्ममा प्रयोग गर्ने भन्ने कुरा बुझ्न एकदमै जरुरी छ ।
सनस्क्रिन प्रयोग गर्नुपूर्व आफ्नो छाला कस्तो प्रकारको छ भन्ने कुरा बुझ्नुपर्छ । छाला चिल्लो छ भने जेलबेस, छाला सुक्खा छ भने क्रिमबेस तथा चिल्लो पनि होइन, सुक्खा पनि होइन भने लोसनबेसमा प्रयोग गर्नुपर्छ । प्रायः कम्पनीले यी तीनै थरीका सनस्क्रिन उत्पादन गर्छन् । घाममा जाँदामात्र होइन, घरभित्र बस्दा पनि अथवा घाम नलाग्ने ठाउँमा बस्दा पनि सनस्क्रिन लगाउनुपर्छ । हामी छाता प्रायः दुईवटा कामका लागि प्रयोग गर्छौं । पहिलो पानीबाट बच्न, दोस्रो घामबाट बच्न । तर, छाताको प्रयोग र विकासको इतिहास हेर्ने हो भने यसलाई घामबाट बच्नका लागि नै प्रयोग भएको पाइन्छ । आज पनि प्रयोगको हिसाबमा घामबाट बच्न नै छाता बढी प्रयोग हुन्छ । तर, विभिन्न रङ्गीचङ्गी छाता प्रयोगमा आएको पाइन्छ । यो एकदमै गलत हो किनभने कालो छाताबाहेक अन्य रङका छाताले सूर्यका हानिकारक किरणलाई रोक्न सक्दैन । कालो छाताले मात्र सूर्यको हानिकारक किरणलाई छालासम्म पुग्न दिँदैन र छालालाई स्वस्थ राख्न मद्दत गर्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?