logo
२०८१ असोज ४ शुक्रवार



‘ट्रेजेडी किङ’ दिलीपकुमार

फिचर |
शनिवार |


‘ट्रेजेडी किङ’ दिलीपकुमार


विजयरत्न तुलाधर
 

दिलीपकुमार, भारतमा ‘ट्रेजेडी किङ’को दर्जा पाएका एक ख्यातिप्राप्त अभिनेता अर्थात् भावुक अभिनयका लागि प्रसिद्ध व्यक्तित्व । करिब ५५ वर्ष उहाँले अभिनयमै सक्रिय जीवन बिताउनुभयो । उहाँको अभिनय यात्रा भने सन् १९४४ नोभेम्बर २९ तारिखको दिन प्रदर्शनमा आएको ‘ज्वारभाटा’ (हिन्दी) चलचित्रबाट सुरु भयो । यो यात्रा सन् १९८९ अप्रिल १० मा प्रदर्शित ‘किला’सम्म रह्यो । उहाँले कुल ६५ वटा हिन्दी चलचित्रमा अभिनय गर्नुभयो । उहाँको ‘सगीना महतो’ शीर्षकको एक बङ्गाली चलचित्र पनि छ । अभिनयका यस्ता हस्ती दिलीपकुमारको गत बुधबार अर्थात् ७ जुनका दिन ९८ वर्षको उमेरमा निधन भयो ।
दिलीपकुमार कुशल एवम् सशक्त अभिनेताका रूपमा चिनिनुहुन्थ्यो । धेरैजसो चलचित्रमा उहाँले भावुक अभिनय गरेर दर्शक र प्रशंसकको मन जित्नु भयो । तर, उहाँका चलचित्र हेर्ने हो भने उहाँलाई विविध भूमिकामा देख्न सकिन्छ । ‘राम और श्याम’ चलचित्रमा उहाँले हास्यरसले भरपूर चरित्रका साथै जुझारु युवकको दोहोरो भूमिका निर्वाह गर्नुभएको कुरा यहाँ उदाहरणीय हुन आउँछ । एउटै चलचित्रमा कमेडी र एक्सन अवतार प्रदर्शन गरेर दिलीपकुमारले आफू भावुक र संवेदनशील अभिनयमा मात्र नभई, विविध चरित्र निर्वाह गर्न सक्षम अभिनेता भएको उदाहरण प्रस्तुत गर्नुभएको थियो । उहाँले
‘अन्दाज’ चलचित्रमा प्रणय, ‘आन’मा विद्रोह,
‘दाग’मा पारिवारिक, ‘देवदास’मा भावुक, ‘आजाद’मा हास्यले भरिपूर्ण भूमिका निर्वाह गर्नुभयो । मुगल सम्राट अकबर र उनका विद्रोही पुत्र सलिमको प्रेमकथामा आधारित ऐतिहासिक चलचित्र ‘मुगल ए आजम’ उहाँको एक उत्कृष्ट चलचित्र हो । सम्राट अकबरको भूमिका निर्वाह गर्नुभएका अभिनेता पृथ्वीराज कपुर र सलिमको भूमिकामा देखिनुभएका दिलीपकुमारबीचको संवाद युद्ध यो चलचित्रको प्रमुख आकर्षणका रूपमा लिइन्छ । इम्तियाज अलि ताजको साहित्यिक कुति
‘अनारकली’मा आधारित यस चलचित्रका निर्देशक के आसिफ हुनुहुन्थ्यो । त्यतिबेलाको सर्वाधिक लागतमा बनेको ‘मुगल ए आजम’ चलचित्र बन्न करिब आठ वर्ष लागेको थियो । रङ्गीन चलचित्र बन्नेक्रम सुरु भइसक्दा पनि निर्माणमा लामो समय लागेकाले यो चलचित्र त्यतिबेला श्यामश्वेत प्रविधिमै सीमित हुनुपरेको थियो ।
त्यसो त भारतमा सन् १९३७ मा प्रदर्शित ‘किसान कन्या’बाटै हिन्दी चलचित्र जगत् रङ्गीन चलचित्रको युगमा पदार्पण गरिसकेको थियो । तर, त्यतिबेला महँगो प्रविधि भएका कारणले चलचित्र श्यामश्वेत प्रविधिमै बनिरहेका थिए । सन् १९६० मा ‘मुगल ए आजम’ तयार हुँदाको समयसम्म रङ्गीन चलचित्रले दर्शकको मनमस्तिष्कमा प्रभाव पार्न थालिसकेको थियो । यसै कुरालाई दृष्टिगत गरी समयसुहाउँदो बनाउन यो चलचित्रको ‘प्यार किया तो डरना क्या’ बोलको एउटा गीतको छायाङ्कन रङ्गीन प्रविधिमा गरिएको थियो । यो गीत छायाङ्कन गर्न एउटा भव्य महलको सेट निर्माण गरिएको थियो । भनिन्छ– त्यो एउटा सेटको लागत मात्रले पनि त्यतिबेला एउटा चलचित्र तयार हुन सक्थ्यो ।
दिलीपकुमारको जीवनको अर्को एउटा महŒवपूर्ण चलचित्रका रूपमा ‘देवदास’लाई लिन सकिन्छ । भारतका विख्यात साहित्यकार शरतचन्द्र चट्टोपाध्यायको प्रख्यात कृति ‘देवदास’मा आधारित यस चलचित्रका निर्देशक विमल राय हुनुहुन्थ्यो । प्रेममा पागल युवकको भूमिकामा दिलीपकुमारले अभिनय गर्नुभएको थियो । यस चलचित्रमा पनि आफ्नो सशक्त अभिनयद्वारा उहाँले सबैको मन जित्नुभएको थियो । भारतीय चलचित्र जगत्को प्रसिद्ध पुरस्कार फिल्मफेयर अवार्डमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार पनि उहाँले यस चलचित्रबाट पाउनुभएको थियो ।
फिल्मफेयर अवार्डमा पहिलोपटक सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जित्ने, सर्वाधिक यो पुरस्कार जित्ने अभिनेता पनि दिलीपकुमार नै हुनुहुन्छ । उहाँले पहिलोपटक सन् १९५४ मा ‘दाग’बाट यो पुरस्कार जित्नुभएको थियो भने पछि १९५६ मा ‘आजाद’, १९५७ मा ‘देवदास’, १९५८ मा ‘नया दौर’ समेत लगातार तीन वर्षसम्म यो पुरस्कार जितेर कीर्तिमान कायम गर्नुभएको थियो । हुन त यो पुरस्कारको मनोनयन प्रकाशित हुँदा त्यतिबेला प्रत्येक वर्ष उहाँको नाम कुनै न कुनै चलचित्रबाट मनोनयनमा पथ्र्याे भने १९६१ म ‘कोहिनूर’, १९६५ मा ‘लिडर’, १९६८ मा ‘राम और श्याम’ तथा १९८३ मा ‘शक्ति’बाट उहाँले यो पुरस्कार जित्नुभयो । ‘शक्ति’का लागि उहाँलाई यो पुरस्कार दिइँदा यसै चलचित्रका अर्का अभिनेता अमिताभ बच्चन प्रमुख अभिनेता भएको दाबी बच्चनका समर्थकले गरेका थिए । यो कुरा त्यतिबेला ठूलै विवादका रूपमा खडा भएको थियो । यसैगरी ‘मुगल ए आजम’का लागि दिलीपकुमारलाई पुरस्कृत नगर्दा पनि फिल्मफेयर अवार्ड विवादमा परेको थियो ।
दिलीपकुमारलाई एक युगमा एकपटकमात्र जन्मिने अभिनेताका रूपमा लिइन्छ । उहाँले आफ्नो समयका अर्का दुई ख्यातिप्राप्त अभिनेता राज कपुर र देव आनन्दभन्दा माथिल्लो दर्जा पाउनुभएको थियो । देव आनन्दसँग उहाँले ‘इन्सानियत’ र राज कपुरसँग ‘अन्दाज’मा सँगै अभिनय गर्नुभएको थियो ।
पहिलो चलचित्र ‘ज्वारभाटा’मा मृदुला रानीसँग अभिनय गर्नुभएका दिलीपकुमारले पछि कामिनी कौशल, मधुबाला, वैजयन्ती माला, मीना कुमारी, वहिदा रहमान, मुमताज र लीना चन्द्रावरकरलगायतका अभिनेत्रीसँग पनि नायकका रूपमा अभिनय गर्नुभयो । अभिनेत्री मधुबालासितको उहाँको प्रेम–सम्बन्ध त्यतिबेला चर्चित प्रेम–सम्बन्ध थियो । यही चर्चाका कारण मधुबालाका पिताले दिलीपकुमारसित कुनै पनि चलचित्र खेल्न पाउँदिनौँ भनेर मधुबालालाई बन्देज लगाइदिएका थिए । फलस्वरूप निर्देशक बीआर चोपडाको ‘नया दौर’मा मधुबालालार्ई नायिकाका रूपमा लिने निधो भइसकेपछि पनि वैजयन्ती मालालाई लिनुपरेको थियो ।
बीआर चोपडाको निर्देशनमा ‘दास्तान’, बीआरकै निर्माण र रवि चोपडाको निर्देशनमा ‘मजदुर’मा पनि दिलीपकुमारले अभिनय गर्नुभयो । निर्देशक बीआर चोपडा दिलीपकुमारको प्रमुख भूमिकामा ‘बागबान’ चलचित्र बनाउन चाहनुहुन्थ्यो तर त्यो चाहना केही कारणवश पूरा भएन । पछि यो चलचित्र अमिताभ बच्चनलाई लिएर बनाइयो । ‘सोले’मा सञ्जीवकुमारले निर्वाह गर्नुभएको ठाकुरको भूमिकामा पनि दिलीपकुमारलाई खेलिदिन आग्रह गरिएको थियो ।
सन् ७० को दशकको आरम्भसँगै हिन्दी चलचित्र क्षेत्रमा राजेश खन्ना, अमिताभ बच्चन र जितेन्द्रजस्ता युवा पुस्ताका कलाकारको उदयसँगै त्यतिबेलाका स्थापित पुस्ता मानिएका दिलीपकुमार, राज कपुर, देव आनन्द, शम्मी कपुर, राजेन्द्रकुमार, विश्वजित पुस्ताका कलाकार विश्रामको स्थितिमा पुगेका थिए ।
युवा नायकका रूपमा दिलीपकुमारले अभिनय गर्नुभएका ‘दास्तान’, ‘बैराग’ र ‘गोपी’ जस्ता चलचित्रले भने दर्शकको मन जित्न सकेन । सन् १९७६ मा प्रदर्शित ‘बैराग’पछि उहाँ अभिनय जगत्बाट पनि बैरागिनुभयो । सन् १९८१ मा निर्माता, निर्देशक, अभिनेता मनोजकुमारको महŒवाकाङ्क्षी चलचित्र ‘क्रान्ति’मा एक अङ्ग्रेजविरोधी विद्रोहीकोे सशक्त भूमिकामार्फत अभिनयमा उहाँको पुनरागमन भयो । यसपछि ‘विधाता’, ‘मशाल’, ‘धर्माधिकारी’, ‘कानुन अपना अपना’, ‘कर्मा’, ‘सौदागर’, ‘शक्ति’लगायत चलचित्रमा दह्रो उपस्थिति जनाउन सफल हुनुभयो ।
उहाँको विवाह अभिनेत्री सायरा बानोसित सन् १९६६ मा भएको थियो । सायरा बानो पनि त्यतिबेलाका एक ख्याति प्राप्त अभिनेत्री नै हुनुहुन्थ्यो । उहाँहरूको कुनै सन्तान छैन । सायद सन्तान प्राप्तिकै अभिलाषाका कारणले होला दिलीपकुमारले १९८१ तिर आश्मा रहमान नाम गरेकी एक महिलासँग पनि विवाह गर्नुभयो । तर, यो सम्बन्ध दिगो रहन सकेन । सन् १९८३ मा आश्मासँग उहाँको पारपाचुके हुन पुग्यो । सायरा बानो उमेरमा दिलीपकुमारभन्दा बीस वर्ष कान्छी हुनुहुन्छ । दिलीपकुमार र सायरा बानोले ‘सगीना’ र ‘गोपी’ चलचित्रमा सँगै अभिनय गर्नुभएको थियो ।
दिलीपकुमारको जन्म सन् १९२२ को डिसेम्बर ११ तारिखका दिन पिता लाला गुलाम शरबर खान र आमा आयषा बेगमका १२ सन्तानमध्येका एक सन्तानका रूपमा पेशावरको किस्सा ख्वाहाबी बजारमा भएको थियो । उहाँको नाम मोहमद युसुफ खान हो । चलचित्रमा अभिनय गर्न उहाँले आफ्नो नाम दिलीपकुमार राख्नुभयो । उहाँको जन्म ठाउँ अहिले पाकिस्तानमा पर्छ । दिलीपकुमारको अन्तिम इच्छा आफ्नो जन्मघर जाने थियो तर त्यो इच्छा भने पूरा हुन सकेन । उहाँको पिता त्यहाँ फलफूलको व्यापार गर्नुहुन्थ्यो । चलचित्रमा आउनुअघि उहाँ आफ्नो पिताको फलफूल व्यापारमै सघाउनुहुन्थ्यो ।
दिलीपकुमारको पूरा नभएको अर्को इच्छा भनेको चलचित्र निर्देशन हो । उसो त दिलीपकुमारलाई निर्देशकको काममा हस्तक्षेप गर्ने अभिनेता पनि भनिन्छ । ‘दिल दिया दर्द लिया’मा निर्देशक एआर कारदार र ‘गङ्गा जमना’मा नितिन बोससँग उहाँले निर्देशनमा औपचारिक सहकार्य नै गर्नुभएको थियो । उहाँले ‘कलिङ्गा’ शीर्षकमा एउटा चलचित्र निर्देशन पनि गर्नुभयो । यस चलचित्रका निर्माता थिए सुधाकर बोकाडे । सुटिङ लगभग पूरा भइसकेको थियो तर बाँकी काम पूरा गर्न आर्थिक समस्या परेकाले यो चलचित्र प्रदर्शन हुन सकेन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?