logo
२०८१ मंसिर ९ आईतवार



व्यासमा अस्पताल बन्ने भए पछि खुसीयालीमा स्थानीयद्वारा दीप प्रज्ज्वलन

फिचर |
प्रदेश |


व्यासमा अस्पताल बन्ने भए पछि खुसीयालीमा स्थानीयद्वारा दीप प्रज्ज्वलन
तस्बिर अमरराज नहर्की


अमरराज नहर्की
तनहुँ, साउन ९ गते । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा अस्पताल बन्ने भएपछि खुसीयालीमा स्थानीय वासिन्दाले दीप प्रज्ज्वलन गरेका छन् । व्यास नगरपालिकाले ‘‘व्यास नगर अस्पताल’’ निर्माण गर्ने निर्णय गरी वजेट विनियोजन गरेपछि शुक्रबार साँझ दिप प्रज्ज्वलन गरेका हुन् ।

उत्तरी क्षेत्रका सबै नागरिकले दमौली पुग्नु नपर्ने र आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा लिन सहज हुने भएकोले खुसीयालीमा दीप प्रज्ज्वलन गरिएको स्थानीय वासिन्दा तथा नेपाल रेडक्रस सोसाईटी दुुम्सी उपशाखाका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो ।

आधारभुत स्वास्थ्य केन्द्र रहेको स्थानमा स्तरवृद्धी गरी २५ बेडको अस्पताल निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको छ । विद्यमान कोभिड–१९ को महामारीबाट प्राप्त तितो अनुभव र सिकाएको पाठलाई ध्यानमा राखि नगर अस्पताल बनाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो ।

नगर अस्पतालको लागि चालु आर्थिक वर्षमा एक करोड रुपियाँ विनियोजन गरिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । सोही स्थानमा जिल्लाका १० वटै स्थानिय तहहरूको संयोजनमा कोभिड–१९ को पिसिआर परिक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको थियो ।

अस्पताल निर्माणका लागि वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटाको अध्यक्षतामा पाँच सदस्यीय समिति समेत गठन गरिएको छ । आधारभूत स्वास्थ्य केन्द्रलाई विस्तार गरी २५ वेडको अस्पताल निर्माण गर्ने योजना अनुरुप उक्त क्षेत्रको करिब २८ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

अस्पताल निर्माण पछि वडा नं. १० का अतिरिक्त, उत्तरी भेगका वडाहरु नं. ५, ६, ७, ८ र ९ का वासिन्दाहरुलाई उपचारमा सहज हुने वडाध्यक्ष सापकोटा बताउनुहुन्छ । सो स्थान व्यास मार्गसँग जोडिएकोले उपचारको लागि सहज भएको उहाँले बताउनुभयो ।

त्यसैबीच व्यास नगरपालिकाले वार्ड नम्बर ८ को बर्लाचीमा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने समेत निर्णय गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?