logo
२०८१ असोज ४ शुक्रवार



साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने

फिचर |
मुख्य समाचार |
पढ्नै पर्ने |


साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने
फाइल तस्बिर


काठमाडौँ, साउन २० गते । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बिहान तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ ।

सत्तारुढ गठबन्धनको कार्यक्रमलाई अन्तिम रूप दिन बिहीबार पुन: बैठक बस्नेगरी सकिएको कार्यदलका सदस्य–सचिव केशवराज जोशीले राससलाई जानकारी दिनुभयो । सरकारको नीति तथा कार्यक्रमका रुपमा समेत साझा कार्यक्रम आउने भएकाले आयोगको पनि विचार लिन लागिएको हो । बिहीबारको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्षनेतालाई प्रतिवेदन बुझाउने भएको छ ।
पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो । कार्यदल न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन क्रियाशील छ । बिहीबार बिहान ९ः०० बजे फेरि कार्यदल बैठक बालुवाटारमा बस्ने जनाइएको छ ।

साझा कार्यक्रमसहित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि गठबन्धनका शीर्ष नेतृत्वले भावी रणनीति निर्धारण गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिइने बताइएको छ । शीर्ष नेतृत्वले पारित गरेको साझा कार्यक्रमका आधारमा सरकार सञ्चालन गरिने गठबन्धनले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?