logo
२०८१ मंसिर ७ शुक्रवार



फेरिँदै तीज गीत र भाका

फिचर |
पढ्नै पर्ने |


फेरिँदै तीज गीत र भाका
फाइल तस्विर


काठमाडौँ, भदौ २४ गते । 
“ए फुलमाया एता आइजा एउटा कुरा सुन त,
यति राम्रो जोवन लान को आउने हो कुन त ?”

प्रकाश सपुतले बजारमा ल्याएको यो तीज गीतले समसामयिक विषयलाई जोड्दै अहिलेको युवापुस्ताको मन छुन सफल छ । केही समय पहिलेसम्म यो गीत युट्युबको एक नम्बर पर्नुले त्यो देखाएको छ । गीतको शब्दसँगै देखिने श्रव्यदृश्यमा दुई चेली ओझिलो संवादसहितको अभिनय देखिन्छ । पँधेरोबाट फर्किँदै गर्दा सँगिनी आइपुग्छिन् र संवाद सुरु हुन्छ ।

‘डाक्टर, पाइलट, इञ्जीनियर, सुब्बा नायक आए,
जुन पेशाको भए पनि हुनुपरो लायक ।’

अझै पनि छोरीको विवाह राम्रो व्यक्तिभन्दा पनि राम्रो पेशाका व्यक्तिसँग होस् भन्ने चाहना परिवारको छ । त्यसलाई चिर्दै गीतले पेशाभन्दा जीवनको लायक श्रीमान् प्राप्त गर्ने चाहनालाई चरितार्थ पार्न खोजेको छ । नायिका आँचल शर्मा र स्वस्तिमा खड्कालाई पात्र बनाई सपुतले समाजमा फरक खालको सन्देश दिन खोज्नुभएको छ । गीत छोटो समयमा नै एक करोड दर्शकले हेरेका थिए । पहिले सामान्यतया तीजको गीतमा महिलाका पीडा, श्रीमान् र सासुको हेपाइका विषय हुने गरेकामा यो गीतले त्यसमा परिवर्तन गरेको छ । महिलामाथि हुने हिंसाविरुद्ध र सशक्तीकरणको विषय उठान गरेको यो गीतले सबै उमेर र वर्गले उत्तिकै रुचाएको पाइन्छ ।

लोक सङ्गीतमा नयाँनयाँ प्रयोग गर्न रुचाउने गायक हुनुहुन्छ सपुत । उहाँका ‘गलबन्दी, दोहोरी ब्याटल, फुटेका चुरा, मेरो पनि होइन र यो देश’ ले यस्तो गीत चल्छ भन्ने धारणा नै बदलेको थियो । तीज गीतमा पनि महिलाका कथाव्यथा र आँसुका कुरा मात्रै बिक्छन् भन्ने मान्यतालाई यो वर्ष निस्केको ‘कुरा बुझ्नु पर्च’ ले बदलेको छ ।
अहिलेका युवापुस्ताको आत्मविश्वास, सुन्दरता, भविष्य र अपेक्षालाई आफूले गीतमा समेटेको गायक सपुतले बताउनुभयो । आफ्नी हुर्कँदै गरेकी पाँच वर्षीया छोरी हेरेर उनी कस्तो भइदिएहुन्थ्यो भन्ने सोच आएकाले त्यही कुरा गीतमा समेटेको उहाँले बताउनुभयो । लोकगीतलाई गाउँबाट आएको गीत र यसले हाम्रो संस्कृति झल्काउनुपर्छ भन्ने गरिएको छ । अहिले गीत बनाउँदा रुवाबासी र डाँडापारिको माइती जान नपाएको मात्रै कथामा सीमित हुनुहुँदैन भन्ने सोचले नै उहाँले गीत तयार गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेका चेलीको पीडा श्रीमानले कुटेको, घरबाहिर नै निस्कन नपाएको भन्दा पनि अरु रहेका छन् हामी पनि त्यतै जानुपर्छ ।”

विगतमा खरको छानामुनि बसेर रोधी बस्नु, ढिकी कुट्नु, बिहान ४ बजे उठेर जाँतो पिध्नुलाई संस्कृति मानिन्थ्यो । त्यतिबेला जन्ती जान नपाएर घरमा रत्यौली गाउनुलाई संस्कृति मानिन्थ्यो । जीवनशैली परिवर्तन हुँदासँगै संस्कृति पनि परिवर्तन भइरहेको सपुतले बताउनुभयो । मौलिक भाका, पहिचान संरक्षण गरेर संसारलाई देखाउनुपर्ने तर संस्कृति भनेर समयसँगै हुने परिवर्तन रोक्न नसकिने उहाँको भनाइ थियो । अहिले नै १० वर्षपछि हुने कुरा देखाउन खोज्दा विकृति भनिने र २०÷२५ वर्ष पहिलेको रहनसहनलाई संस्कृति मान्ने गरिएको सपुतले बताउनुभयो ।

मिडियामा कम मात्रै देखिने गायिका विष्णु माझीको स्वरमा रहेको ‘चरी जेलैमा’ पनि यो वर्ष चर्चित बन्यो । विवाहिता महिलाको पीडा र तीजमा माइती जान नपाउँदाको दुःखेसो गीतको विषयका रूपमा रहेको थियो । लामो समयसम्म युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा परेको यो गीतको भिडियोले पनि दर्शकको मन छोएको थियो ।

पहिले हिन्दू महिलाको पर्वका रूपमा रहेको तीज पर्व सबै जाति, धर्म र लिङ्गले मनाउने चाड हुँदैछ । त्योसँगै तीजमा गाइने भाका र गीतमा समेटिने विषयवस्तु पनि फेरिँदै गएको छ । विस्तारै चेलीले पराई घरमा खेप्नुपरेको पीडाभन्दा पनि टिकटक, कर्ली कपाल र रानीहारका चर्चा गीतका विषय बनिरहेका छन् । कतिपय कलाकार गीतमा बदलिँदै गएको विषयवस्तुलाई समयको मागका रूपमा लिएका छन् भने पुराना कतिपय कलाकारले यसलाई विकृतिका रूपमा हेरेका छन् ।

लोक तथा दोहोरी गायक बद्री पङ्गेनी तीज गीतमा शब्द चयन र सङ्गीत दुवैमा मौलिकता हराउँदै गएको बताउनुभयो । अहिलेको गीतमा टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको कुरा समेटिएको पाइन्छ । उहाँका अनुसार अहिले गाउँ परिवेश, उकाली–ओरालीका कथा विस्तारै कम भइरहेका छन् । समग्रमा नै लोकगीतको शैली बदलिएको छ । गीतमा पहिले सुखदुःखका कुरा हुन्थे अहिले मनोरञ्जनका कुरा बढी पाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लोकबाजाको साटो अहिले आएर आधुनिक बाजाको प्रयोग बढी भएको पाइन्छ ।”

समयअनुसार केही परिवर्तन ठीकै होला तर कतिपय कुरामा अस्वभाविक परिवर्तन भएको पाइएको गायक पङ्गेनीले बताउनुभयो । लोकगीतले संस्कृतिको संरक्षण गर्नुपर्ने भए पनि त्यो हुन नसकेको र गीत–सङ्गीत समाजभन्दा अघि बढेको उहाँको अनुभव छ । दर्शक र स्रोता सबै किसिमको पाइएको उहाँले बताउनुभयो । कतिपयले नयाँ स्वाद चाहने पनि छन् र मौलिकता मन पराउने पनि उत्तिकै छन् । उहाँले भन्नुभयो, “कलाकारले बजारले के खोज्यो भन्दा पनि मौलिकता संरक्षण गर्नमा ध्यान दिनुपर्छ ।”

तीजलाई लक्षित गरेर केही वर्ष पहिलेदेखि व्यावसायिक गीत आइरहेकामा त्यसले यस वर्ष पनि निरन्तरता पाएको छ । कोरानाको प्रभाव भए पनि कलाकारले गीत निकाल्न कम भएन । यो वर्ष झण्डै २०० गीत निस्केकमा झण्डै दुई÷चारवटा मात्रैै सफल भएको उहाँले बताउनुभयो ।

पहिले–पहिले तीजलाई महिलाको मात्रै पर्व मानिन्थ्यो र महिलाको मात्रै स्वरमा गीत बजारमा आउने गरेको थियो । पुरुषको सहभागिता बाजा बजाउनेमा वा अप्रत्यक्षरूपमा हुने गरेको थियो । पछिल्लो एक दशकमा हेर्ने हो भने महिला र पुरुषको दाहोरीका रूपमा गीत बजारमा आइरहेको पाइन्छ । गायक पङ्गेनीले भन्नुभयो, “दिदीबहिनीले गाउँ भनेपछि नाइँ भन्न नसकेर तीज गीत गाइरहेको छु ।”

झण्डै दुई दशकदेखि सङ्गीत क्षेत्रमा स्थापित नाम हो बिमाकुमारी दुरा । बाल्कालदेखि नै गीत गाउँदै आए पनि उहाँले तीज गीतको एल्बम बजारमा ल्याउनुभएको झण्डै २० वर्ष भयो । यो अवधिमा बजारमा आउने तीज गीतमा भने आकाश पातालको भिन्नता भएको उहाँको अनुभव छ । पहिले रीतिरिवाज, संस्कार र संस्कृतिका रूपमा तीज मनाइने र तीजका गीत कलाकारले निकाल्ने गरेकामा अहिले त्यो नपाइएको उहाँको अनुभव छ । उहाँँले भन्नुभयो, “अहिलेका तीज गीतमा परम्परा र संस्कृतिको कुरा पाइँदैन ।”

तीज गीतमा गाउँले परिवेशका कुरा र मौलिक भाका विस्तारै हराउँदै गइरहेको दुराले बताउनुभयो । लोकगीत भए पनि कतिपय तीज गीत जहान परिवारसँग बसेर हेर्न मिल्ने खालको छैन । कलाकारले बजारले खाजेको भन्दै जथाभावी शब्द र सङ्गीत दिन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गीत–सङ्गीत स्रोताले मागेर दिने होइन, कलाकारले जस्तो दियो श्राेता, दर्शकले सुन्ने र हेर्ने हो ।”

तीज गीत मात्रै होइन, तीज मनाउने तरिका पनि बदलिएको छ । गाउँघरमा अहिले पनि तीजलाई तीज जसरी मौलिक रूपमा नै मनाइने गरिएकामा सहरको तीज आफूले नबुझेको उहाँले बताउनुभयो । सहरमा आए पनि गाउँबाटै आएकाले पनि तीजको मौलिकता बिर्सिदै छन् । उहाँले भन्नुभयो, “गाउँमा कहिल्यै बदलिँदैन हाम्रो परम्परा र म गाउँबाट आएर होला त्यही मनपर्छ ।”

लोक तथा दोहोरी गायक बुद्धिसागर बस्यालले तीजको गीतले मौलिकता नै झल्काउनुपर्ने बताउनुभयो । तीज गीतमा पुरुषको स्वरभन्दा महिलाको स्वरमा नै हुँदा उहाँलाई राम्रो लाग्छ । अहिले गीत–सङ्गीत सुन्नका लागि भन्दा हेर्नका लागि बनाइएको छ । उहाँले भन्नुभयो, “राम्रो, नराम्रोजस्तो भए पनि बजारमा बिके पुग्छ भन्ने सोचले तीज गीतमा विकृति भित्रिएको छ ।”

तीज गीत धेरै गाउने गायिकामा पर्नुहुन्छ गायिका सुनिता दुलाल । विसं २०६० देखि तीजका गीत गाउँदै आउनुभएकी उहाँको स्वरमा यो वर्ष पनि दुई गीत बजारमा आए । गीतमा समयानुसार परिवर्तन हुनु स्वभाविक भएको उहाँको भनाइ छ । पहिले पहिले बुहारीले श्रीमान्को घरमा विभिन्न किसिमको हिंसा सहनुपर्ने भए पनि अहिले त्यो कम भइरहेको छ । गाउँघरमा पनि महिला शिक्षा बढिरहेकाले हिंसाको घटनामा कमी आउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजसँगै गीत पनि बदलिनु स्वाभाविक नै हो ।”

तीज पहिलेभन्दा अहिले व्यापक बन्दै गएको दुलालको अनुभव छ । पहिले पहिले एउटै गाउँमा सीमित भाका अहिले भने राष्ट्रियदेखि अन्तराष्ट्रिय बजारसम्म नै पुगिरहेको छ । देशभित्रभन्दा देश बाहिर यो पर्व अझै भव्यरूपमा मनाउने गरिएको छ । कोभिड सङ्क्रमणको जोखिम भए पनि स्टुडियो ब्यस्त भएकाले समय पाउन गाह्रो भएको उहाँले बताउनुभयो । गतवर्ष र यस वर्षलाई हेर्दा महामारीले पनि बजारमा नयाँ गीत आउन रोकिएको छैन ।

कोरोनाका कारण स्टेज कार्यक्रम हुनसकेको छैन । तीन वर्ष पहिलेसम्म दुलाल असारको अन्तिमदेखि भदौसम्म गरी दुई महिनाभन्दा बढी स्टेज कार्यक्रममा नै व्यस्त हुनुहुन्थ्यो । गतवर्ष एउटै कार्यक्रम हुन सकेन भने अहिले पनि अवस्था झण्डै उस्तै छ । उहाँले भन्नुभयो, “यो वर्ष अनलाइनबाट थोरै कार्यक्रम भइरहेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?