logo
२०८१ बैशाख १५ शनिवार



सातै प्रदेशमा रेविज विरुद्धको खोप विस्तार, कुनकुन अस्पतालमा पाइन्छ सेवा 

फिचर |
स्वास्थ्य |


सातै प्रदेशमा रेविज विरुद्धको खोप विस्तार, कुनकुन अस्पतालमा पाइन्छ सेवा 


काठमाडौं, मङ्सिर २ गते । सरकारले रेबिजविरुद्ध पाइने खोपको सेवा विस्तार गर्ने भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशका ९ वटा अस्पतालबाट रेबिजविरुद्ध लगाउने खोप सेवा विस्तार गर्ने तयारी भएको बताएको हो ।

मन्त्रालयका अनुसार यसअघि शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्र निःशुल्क रुपमा पाइने सेवा सातै प्रदेशमा विस्तार हुन लागेको हो । मंसिर ५ गतेबाट इम्युनोग्लोबुलिन सेवा विस्तार गर्न लागेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो ।

उपत्यका बाहिरका सर्वसाधरणलाई सेवा दिने उदेश्यले यो सेवा सातै प्रदेशमा विस्तार गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखप्रमुख डा. कृष्ण पौडेलका अनुसार नेपालमा हरेक वर्ष १०० जना मानिमा रेबिज पहिचान हुने गर्दछ । जसमध्ये १० देखि २० जनाको मृत्यु हुन्छ । पौडेलका अनुसार यो औषधिले रेबिजबाट हुने मृत्युलाई कम गर्न एन्टिबडी उत्पादनमा सहयोग गर्छ ।

विश्व स्वास्थ्य संगठनले जनावरले टोकेपछि हुने गहिरो घाउँमा इम्युनोग्लोबुलिन लगाउने गरी निर्देशिका बनाएको छ ।

के हो रेबिज रोग ?
रेबिज रोग स्तनधारी प्राणीबाट मानिसमा सर्ने सक्ने र रेबिज भाइरसबाट लाग्ने प्राणघातक रोग हो । यो जनावरले मानिसलाई टोक्दा लाग्ने रोग भनेर चिनिन्छ ।

रेविज लागेको जनावरले टोकेमा वा चिथोरेमा र्यालबाट यो रोग मानिसमा सर्ने गर्दछ । घाउ वा छाला छेडेको ठाउँमा चाट्दा रेबिज लागेको जनावरले चाट्दा पनि यो रोग सर्न सक्दछ।

मानिसलाई रेबिज रोग लागेमा यसको उपचार छैन शंकास्पद जनावरले टोकेमा तत्काल एन्टी रेबिज भ्याक्सिन लगाउनु पर्दछ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वमै रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ ।

कस्तो अवस्थामा इम्युनोग्लोबुलिन दिने ?
इम्युनोग्लोबुलिन एउटा औषधि हो, जुन रेबिज लाग्न सक्ने जनावरले टोकेपछि घाउको वरीपरी सुइको माध्यमले लगाइन्छ। समान्यतया एन्टिरेबिज भ्याक्सिन लगाएको सातदेखि १० दिन भित्र शरीरले एन्टिबडी बनाउन थाल्दछ ।

एक वा एक भन्दा बढी घाउँ हुने गरेर टोकेमा, ठूलो घाउ भएमा, छाला फुटेको ठाउँमा रेबिज शंकास्पद जनावरको र्याल परेमा वा अनुहार र हातमा टोकेमा बढी जोखिम मानिन्छ । शंकास्पद जनावरको टोकाइ संवेदनशील हुने हुँदा तत्काल भाइरसलाई निष्कृय बनाउन रेबिज इम्युनोग्लोबुलिनको खोप दिनुपर्छ ।

रेबिज इम्युनोग्लोबुलिनको खोप जीवनमा एक पटक मात्र लगाए पुग्ने डा. पौडेलले बताउनुभयो ।

कुन कुन अस्पतालमा पाइन्छ इम्युनोग्लोबुलिन सेवा ?
प्रदेश १– कोशी अस्पताल, विराटनगर
प्रदेश २- जनकपुर अस्पताल, धनुषा
प्रदेश २- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा
प्रदेश २- नारायणी अस्पताल, वीरगञ्ज
बागमती प्रदेश- भरतपुर अस्पताल, चितवन
गण्डकी प्रदेश– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
लुम्बिनी प्रदेश– लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
कर्णाली प्रदेश– सुर्खेत अस्पताल, सुर्खेत
सुदूरपश्चिम प्रदेश – सेती प्रादेशिक अस्पताल, धनगढी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?