logo
२०८१ बैशाख ११ मंगलवार



पर्वतारोहण रेस्क्युमा महिलाको आकर्षण बढ्दाे

फिचर |
पर्यटन |


पर्वतारोहण रेस्क्युमा महिलाको आकर्षण बढ्दाे


 

काठमाडौं, मङ्सिर १७ गते । सुन्थारी– २, रोल्पाकी कृष्पा बुढामगरले पर्वताराेहण रेस्क्युमा चासो देखाउँदै एकसाताको रेस्क्यु तालिममा उत्कृष्ट प्रदर्शन गर्नुभयो । उहाँजस्तै भोटखोला–३, सङ्खुवासभाकी निसा भोटेको सहभागिता पनि उत्कृष्ट थियो ।

पर्वतारोहण क्षेत्रमा संलग्न आरोही तथा गाइडका महिला परिवार अधिकांशले गृहिणी जीवन बिताउने गर्नुहुन्छ । तर पछिल्लो समय आरोहण र गाइड क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय बन्दै गएको छ । गत मङ्सिर ९ गतेदेखि शुरु भएर १५ गतेसम्म सञ्चालन भएको पर्वताराेहण रेस्क्यु तालिममा पाँच जना महिलाको उपस्थिति थियो ।

निसा र कृष्पाबाहेक सोलुखुम्बुकी काण्डु शेर्पा, पासाङ कान्छी र मिङमा डोल्मा शेर्पा रहनुभएको थियो । एक साताको तालिममा उहाँहरुले आरोहण सामाग्रीको प्रयोग, आरोहणका क्रममा दुर्घटना भए त्यसको उद्धार लगायतका सीपहरु सिक्नुभएको थियो । तालिमका ४० जनामध्ये पाँच जना महिलाले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक लाक्पा रङडु शेर्पाले जानकारी दिनुभयो ।

हिमाल आरोहणकै क्रममा अधिकांश महिलाले आफ्नो परिवार गुमाउनु परेको तितो यथार्थलाई भुलेर भए पनि पछिल्लो समय महिला नै पर्वताराेहण रेस्क्यु तालिम लिएर आरोहण पेशा अङगाल्ने तरखरमा जुटेको संखुवासभाकी निसा भोटेले बताउनुभयो ।

निसा भोटे सगरमाथा आरोहीसमेत हुनुहुन्छ । पछिल्लो समय हिमाल आरोहण र गाइडमा महिलाको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । दक्षिण एसियामै पहिलो पटक अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक बन्ने पहिलो महिला दावा याङजुम शेर्पा हुनुहुन्छ । उहाँको प्रेरणाले पनि यी पाँच महिला तालिममा सहभागिता जनाएको उहाँहरुले बताउनुभयो ।

तालिमलाई जुनिफर फाउण्डेशनले आर्थिक सहयोग गरेको थियो । पर्वतारोहण प्रशिक्षक लाक्पा रंडु शेर्पा, लमबाबु शेर्पा, अविजल राई, लोप्साङ शेर्पा, हरेराम खड्का, छिरिङ पेम्वा शेर्पा र माउन्टेन गाइड छिरिङ सोनाम लामा, पासाङ काजी, पेमारिता शेर्पाले प्रशिक्षित गर्नुभएकाे थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?