logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाल र भारतका प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट रेल सेवा उद्घाटनकाे तयारी

फिचर |


नेपाल र भारतका प्रधानमन्त्रीद्वारा भर्चुअल माध्यमबाट रेल सेवा उद्घाटनकाे तयारी
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झा । तस्बिर - विजयकुमार साह, ढल्केवर


विजयकुमार साह
ढल्केबर, फागुन २ गते । जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भर्चुअल माध्यमबाट नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा गर्ने तयारी भइरहेको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल नियमित सञ्चालनका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्ने गरी दुई देशका कूटनीतिज्ञबीच छलफल भइरहेको छ ।

प्राविधिक परीक्षणको रुपमा आइतबारबाट कुर्था–जनकपुर–जयनगरसम्म रेल सेवा सञ्चालन सुरु भएको छ । एक–दुई दिनभित्र उद्घाटनको पनि मिति तय हुन्छ । फागुन महिनाको दोस्रो साताको अन्त्यतिर उद्घाटन हुनसक्ने उहाँले विश्वास गर्नुभएको छ ।

रेल उद्घाटन नहुञ्जेल दिनको एकपटक आउनेजाने र त्यसपछि यात्रुको चाप तथा आवश्यकता हेरेर दिनमा २–३ पटकसम्म पनि रेल सञ्चालन गर्न सकिने तयारी रहेको उहाँ बताउनुहुन्छ ।
रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपियाँ आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा रेल सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय कम्पनी कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुई सेट डेमो ट्रेन खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर यात्रा गर्न सक्छन् ।

यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । नेपालमा राणाकालमा वि.सं. १९९४ सम्म जयनगरदेखि जनकपुरसम्म सञ्चालन भएको रेल सेवा २०६७ सालमा प्राविधिक कारणले बन्द भएको थियो । झण्डै एघार वर्षपछि वर्तमान सरकारले रेल सेवा सुरु गरेको छ ।

अहिले कुल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने महाप्रबन्धक झाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?