logo
२०८१ बैशाख १३ बिहीवार



होलीमा उपत्यकाको सवारी व्यवस्थापनमा १३ सय प्रहरी खट्ने

बुधबार बिहानैदेखि मापसे ‘चेकिङ’

फिचर |
मुख्य समाचार |


होलीमा उपत्यकाको सवारी व्यवस्थापनमा १३ सय प्रहरी खट्ने


काठमाडौं, चैत २ गते। महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीमा यातायात मर्यादित बनाउन १३ सय प्रहरी खटाउने भएको छ । रङ्गको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएर ट्राफिक व्यवस्थापन कडा गर्ने तयारी गरेको हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागि महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाई तथा इन्चार्जलाई ट्राफिक व्यवस्थापनमा कडाई गर्न बुधबार निर्देशन दिनुभएको छ।

‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौती तथा खतरालाई यथार्थ परक विश्लेषण र मूल्याङ्कन गरेर प्रविधि उपकरणको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ’, उहाँले भन्नुभयो, ‘बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिनेछ ।’

अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तीब्र गति र जिक–ज्याक गरेर मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरेर सवारी चढ्ने, हेल्मेट नलगाउने, बाइकमा तीन जना सवार गर्ने र अभद्र व्यवहार गरेको भेटिए तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने तयारी प्रहरीले गरेको छ।

ठूलो आवाज निकाल्ने र मोडिफाई सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाले सवारी साधन चलाउने, ट्राफिक नियमविपरीत सवारी चलाउनेमाथि विशेष निगरानी गर्ने तयार महाशाखाले गरेको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था गरेको छ। ती नाकामा बुधबार बिहानैदेखि मापसे परीक्षण हुनेछ। महाशाखाले होली पर्व व्यवस्थित, मर्यादित र सुरक्षित रुपमा मनाउन सबैलाई विशेष अनुरोधसमेत गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?