logo
२०८१ बैशाख ६ बिहीवार



म्बाप्पेले सन् १९६९ को कीर्तिमानलाई भङ्ग गरे

फुटबल |
खेलकुद |


म्बाप्पेले सन् १९६९ को कीर्तिमानलाई भङ्ग गरे
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त ९ गते । कायलन म्बाप्पे फ्रेञ्च लिग वान मा एक सय गोल पुरा गर्नुहुने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाउनुभएको छ । २२ वर्षीय फ्रान्सका स्ट्राइकर म्बाप्पेले सेन्ट एसिनेका हार्भी रेभेलीको कीर्तिमान भङ्ग गर्नुभएको हो । हार्भीले सन् १९६९ मा फ्रेञ्च लिग वानमा एक सय गोल पुरा गर्दै एक सय गोल पुरा गर्ने सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाउनुभएको थियो ।
फ्रेञ्च लिग वान फुटबल प्रतियोगिता अन्तगर्त गए राति सम्पन्न खेलमा पेरिस सैन्ट जर्माइन(पीएसजी)ले लियोनमाथि ४–२ को जित हात पार्यो । उक्त जित हात पार्ने क्रममा पीएसजीका म्बाप्पेले दुई गोल गर्नुभयो । डानिलो पेरैराले ३२ औं मिनेटमा गोल अन्तर २–० पार्नुअघि म्बाप्पेले १५ औं मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । एञ्जेल डी मारियाले दोस्रो हाफको सुरुवातमै ४७ औं मिनेटमा गोल गर्दै अन्तर तेब्बर पार्नुभयो । ५२ औं मिनेटमा म्बाप्पेले आफ्नो दोस्रो तथा पीएसजीका लागि चौथो गोल पुरा गर्नुभयो ।
लियोनले खेलमा पुनरागमन गर्यो । तर दोस्रो हाफमा गरेको दुबै गोल शान्त्वनामा सीमित हुन पुग्यो । तेस्रो स्थानको लियोनमाथि जितसँगै पीएसजी अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ । उसले सामान ३० खेलबाट लिलीको ६३ अङ्कको बराबरी गरेको छ । तर गोल अन्तरको आधारमा शीर्ष स्थानमा उक्लिन गएको हो ।
लियोन विरुद्धकै खेलबाट छ महिनादेखि घाइते भएर आराममा रहनुभएका ब्राजिली फरवार्ड नेयमारको टोलिमा पुनरागमन भएको हो । उहाँले ७० औं मिनेटमा म्बाप्पेलाई बिस्थापित गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?