हरि कोइराला
मोरङ्, बैशाख १५ गते । प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको उपाधि पथरीशनिश्चरे नगरपालिकाले जितेको छ । मोरङको सुन्दरहैंचा नगररपालिकाले आयोजना गरेको प्रतियोगितामा आयोजकलाई १–० ले हराउँदै पथरीशनिश्चरेले उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै पथरीशनिश्चरे नगरपालिकाले ३ लाख रुपियाँ र मेयर कप ट्रफी जितेको छ भने आयोजक सुन्दरहरैंचा नगरपालिकाले एक लाख ५० हजार रुपियाँसहित ट्रफी जितेको छ ।
खेलको २९ औं मिनेटमा पथरीशनिश्चरेका सन्तोष न्यौपानेले गर्नुभएको एकमात्र गोल नै पथरीशनिश्चरेको उपाधि यात्राका लागि पर्याप्त भयो । सन्तोषले दीपक राईको पासलाई सदुपयोग गर्दै बललाई गोलको दिशा दिनुभयो ।
फाइनल खेलमा निर्णायक गोल गर्ने सन्तोष न्यौपानेले म्यान अफ द म्याच घोषित हुँदै दुई हजार रुपियाँ प्राप्त गर्नुभयो । पथरीशनिश्चरेका गोल रक्षक अर्जुन बस्नेत उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो । पथरीशनिश्चरेकै साइमन लिम्बू उत्कृष्ट मिडफिल्डर, पथरीशनिश्चरेका अर्जुन राई उत्कृष्ट प्रशिक्षक, सुन्दरहरैंचाका महेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, आशिष चौधरी उत्कृष्ट फरवार्ड, सुन्दरहरैंचाका नितेश श्रेष्ठ उदयीमान खेलाडी र पथरीशनिश्चरेका विशाल पाण्डे र सुन्दरहरैंचाका वीरेन्द्र लिम्बू सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । उहाँहरू सबैलाई संविधान सभा सदस्य चन्द्रबहादुर गुरुङले ५ हजार रुपियाँ र ट्रफि प्रदान गर्नुभयो ।
प्रतियोगितामा मोरङका एक महानगर सहित नौ वटा नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए ।