गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १९ गते । नेपालको राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले समूहमा चौथो स्थानमा उक्लिने लक्ष्यसहित चाइनिज ताईपेइसँग स्पर्धा गर्ने बताउनुभएको छ । नेपालले विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त दोस्रो चरणको खेलमा बिहीबार चाइनिज ताईपेइको सामना गर्दैछ ।
खेलको पूर्ब सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुतैरीले खेलमा मौसम प्रतिकूलता प्रमुख चुनौती हुने बताउनुभयो । कुवेतमा वायुमण्डलीय तापक्रम ४० डिग्री सेल्सियसको करिब हुने गर्छ । मौसम प्रतिकूलताले खेलाडीको शारीरिक सन्तुलन कायम राख्न समस्या हुनेछ । कुवेतको तापक्रमलाई आफू अनुकूल बनाउन नेपालले छिमेकी राष्ट्र इराकसँग गत् साता मैत्रीपूर्ण फुटबल खेलेको थियो । प्रशिक्षक अलमुतैरीले भन्नुभयो, “कुवेतको मौसममा खेल्न सहज हुने छैन्, हामी दुबैको लागि समस्या निम्त्याउन सक्छ ।”
इराक बिरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले बेहोरेको हारबाट थुप्रै सकारात्मक सिकाइ लिएर चाइनिज ताईपेइ बिरुद्ध जित्ने लक्ष्य लिएको उहाँले थप्नुभयो । उहाँले राष्ट्रिय टोलिका युवा खेलाडीहरुलाई संयमित भएर खेल्न आग्रह गर्नुभयो ।
प्रशिक्षक अलमुतैरीले चाइनिज ताईपेइको टोलिमा स्थान बनाएर नयाँ खेलाडीलाई लिएर समेत ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरु कहाँ नयाँ खेलाडी छन्, प्रशिक्षकको पनि पहिलो खेल हुनेछ ।”
चाइनिज ताईपेइका प्रशिक्षक भोम का–हुमले समेत कुवेतको तापक्रमलाई लिएर चिन्ता ब्यक्त गर्नुभयो । चाइनिज ताईपेइका प्रशिक्षक भोमले भन्नुभयो, “तापक्रमलाई लिएर खेलाडीमा समस्या देखिएको छ, हाम्रो ठूलो चुनौती नै खेलाडीले तापक्रम अनुकूल आफूलाई ढाल्न सक्ने रहनेछ ।”
नेपाली टोलिलाई लिएर चाइनिज ताईपेइका प्रशिक्षकले भोमले सन्तुलित टोलि रहेको र रक्षात्मक तथा आक्रमणमा समेत राम्रो रहेको प्रतिक्रिया दिनुभयो । उहाँले कोभिडले गर्दा आफ्ना विदेशी खेलाडी उपलब्ध नरहेको अवस्थामा नयाँ खेलाडीले अबसरको रुपमा उपयोग गर्नुपर्ने बताउनुभयो ।
नेपालले बिहीबार राति पौने दश बजे कुवेतको जबेर अल हमाद अन्तर्राष्ट्रिय रङशालामा छनोट अन्तगर्तको छैठौं खेलमा चाइनिज ताईपेइको सामना गर्नेछ ।