गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १९ गते । स्पेनिस फुटबल क्लब बार्सिलोनाले एक साताभित्र तेस्रो खेलाडीसँग सम्झौता गरेको छ । बार्सिलोनासँग सम्झौता गर्ने नयाँ खेलाडी ब्राजिली डिफेन्डर एमरसन रोयल हुनुहुन्छ ।
२२ वर्षीय एमरसनले सन् २०१९ मा पहिलोपटक ब्राजिली क्लब एटलेटिको मिनेरोबाट त्रिपक्षीय सम्झौतामा बार्सिलोना पुग्नुभएको थियो । तर बार्सिलोनाले दुई वर्षपछि रियल बेटिसबाट एमरसनलाई पुनः बार्सिलोना फर्काएको छ ।
बार्सिलोनाले आर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्वेरो र स्पेनिस सेन्टर ब्याक एरिक गार्सियासँ सम्झौता गरिसकेको छ । लिभरपुलका मीडफिल्डर जर्जेनो विज्नाल्डम समेत निशुल्क स्थानान्तर सम्झौता बमोजिम क्याटालन क्लब बार्सिलोना पुग्ने चर्चा चुलिएको छ ।
एमरसनले रियल बेटिसमा रहँदा ७९ खेलमा पाँच गोल गर्नुभएको छ भने दश गोल गर्न सघाउनुभएको छ । उहाँले ब्राजिलको २० वर्ष मुनिको टोलि र २३ वर्ष मुनिको टोलिको प्रतिनिधित्व गर्नुभएको छ । नोभेम्बर २०१९ मा उहाँ पहिलो पटक ब्राजिलको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्पर्धा खेल्नुभएको छ ।