logo
२०८१ बैशाख २९ शनिवार



यूरोकपको सेमीफाइनलमा इंग्ल्याण्डले डेनमार्कको सामना गर्दै

फुटबल |
खेलकुद |


यूरोकपको सेमीफाइनलमा इंग्ल्याण्डले डेनमार्कको सामना गर्दै


गोरखापत्र अनलाइन
काठमाडौं, असार २३ गते । यूरो कप फुटबल २०२० को दोस्रो सेमीफाइनल खेलमा इंग्ल्याण्डले आज डेनमार्कको सामना गर्दैछ । पहिलो सेमीफाइनलमा स्पेनलाई हराएर इटालीले यसअघि नै फाइनलको यात्रा सुनिश्चित गरिसकेको छ । इंग्ल्याण्ड र डेनमार्कबीचको विजेताले उपाधिका लागि आइतबार इटालीको सामना गर्नेछ ।
इंग्ल्याण्डले डेनमार्कलाई हराए सन् १९६६ पछि पहिलो पटक कुनै प्रमुख फुटबल प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गर्नेछ । यसअघि इंग्ल्याण्डले सन् १९६६ को विश्वकप फुटबलको फाइनलसम्म को यात्रा गरेको थियो । यूरो कप फुटबलको फाइनलसम्म इंग्ल्याण्ड अझै पुग्न सकेको छैन् । सन् १९९६ को यूरो कप फुटबलमा ऊ सेमीफाइनलसम्म पुगेको थियो । इंग्ल्याण्ड फुटबल टोलिका प्रशिक्षक गैरेथ साउथगेटले उक्त कीर्तिमान बनाउन इंग्ल्याण्ड उत्साहित भएको बताउनुहुन्छ ।
इंग्ल्याण्ड फुटबल टोलिका लागि घरेलु समर्थकको साथ र सहयोग हुनेछ । वेम्ब्ली रङशालामा ६० हजार दर्शकको उपस्थिति रहने अनुमान गरिएको छ । अधिकांश बेलायतका हुनेछन् । बेलायतमा कडा लकडाउन प्रतिबन्धले डेनिस प्रशंसकको आगमन र उपस्थिति भने न्यून रहनेछन् । यद्दपी बेलायतमा बस्दै आएका छ हजार डेनिसका लागि टिकेट उपलब्ध गराइएको छ । डेनिस फुटबलले प्रशंसकका लागि एक हजारभन्दा बढी जर्सी पठाएको छ ।
डेनमार्क फुटबल टोलि भने यूरो कप फुटबल २०२० को एक कथा बनेको छ । आफ्नो उद्घाटन खेलमै मीडफिल्डर डेनिएल क्रिश्चियन खेल मैदानमै हृदयघात भएर ढल्न पुग्दा स्तब्ध बनेको डेनमार्क त्यसयता निरन्तर सुधारिएको प्रदर्शन गर्दै आएको छ ।
समूह चरणमा बेल्जियम र फिनल्याण्डसँग हार बेहोरेको डेनमार्कले त्यसयताको लगातार तीन खेल जितेर सेमीफाइनलसम्मको यात्रा तय गरेको छ । डेनमार्कले यूरो कप फुटबल २०२० को अन्तिम चारसम्म पुग्न करिब ३० वर्ष पर्खेको छ । यसअघि ऊ सन् १९९२ को यूरो कपको उपाधि जितेको थियो । जर्मनी एक भएको बेला सन् १९९२ को फाइनलमा डेनमार्कले २–० को जित हात पार्दै उपाधि जितेको थियो ।
‘हेड टु हेड’
इंग्ल्याण्ड र डेनमार्कबीचको पछिल्लो छ खेलमध्ये सन् २००२ को विश्वकप फुटबलमा इंग्ल्याण्डले अन्तिम १६ को खेलमा डेनमार्कलाई ३–० ले हराएको थियो । उक्त जित नै इंग्ल्याण्डको डेनमार्कमाथिको पछिल्लो छ खेलमध्येको एक मात्र जित हो । त्यसअघि सन् १९९२ मा डेनमार्क र इंग्ल्याण्ड एक आपसमा भिड्दा गोलरहित बराबरीमा सम्पन्न भएको थियो । वेम्ब्लीमा दुबै टोलि हालसम्म सात पटक एक अर्काको सामना गरेको छ । सबै खेल १–० मा टुंगिएको छ । जसमध्ये इंग्ल्याण्डले पाँच र डेनमार्कले दुई खेलमा जितेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?