गोरखापत्र अनलाइन
काठमाडौं, असार २४ गते । स्पेनिस डिफेन्डर सर्जियो रामोसले पेरिस सैन्ट जर्माइन(पीएसजी)सँग दुई वर्षे अनुबन्धन गरेको छ । ३५ वर्षीय रामोस रियल मड्रिडसँगको १६ वर्षको सम्बन्ध तोड्दै पीएसजी पुग्नुभएको हो । गत् जुन महिनामा उहाँको रियल मड्रिडसँगको अनुबन्धन समाप्त भएको थियो ।
स्पेनका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय फुटबल खेल्नुभएका रामोस रियल मड्रिडमा छँदा पाँच पटक ला लिगाको उपाधि र चार पटक च्याम्पियन्स लिग पदक जित्नुभएको छ । अनुबन्धनपछि रामोसले आफ्नो जिवनको यो अत्यन्तै महत्वपूर्ण बदलाब क्षण रहेको बताउनुभयो । उहाँले नयाँ चुनौती रहेको र यो दिन आफू कहिले नबिर्सिने प्रतिक्रिया दिनुभयो ।
पीएसजीका अध्यक्ष एवम् कार्यकारी प्रमुख नस्सेर अल खेलैफिले “पीएसजी हाम्रो युगको एक महान खेलाडीलाई स्वागत गर्दछ”– बताउनुभयो ।