गोरखापत्र अनलाइन
काठमाडौं, साउन १० गते । दक्षिण एसियाली फुटबल सङ्घ(साफ)ले नेपाललाई दक्षिण एसियाली फुटबल च्याम्पियनशीप आयोजना गर्न प्रस्ताव गरेको छ । साफले आगामी अक्टोबर महिनामा साफको १३ औं संस्करण आयोजनाका लागि प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ ।
साफका महासचिव अनवरुल हकले एन्फाका महासचिब इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ च्याम्पियनशीप आयोजनाको प्रस्ताब गर्नुभएको हो । महासचिव तुलाधरले एन्फाले विस्तृत प्रस्ताब तयार गरेर स्वीकृतिका लागि साफलाई पठाउने बताउनुभएको छ ।
एन्फाले बुझाएको प्रस्ताबमाथि अन्तिम निर्णय साफका अध्यक्ष र कार्यकारी समितिले गर्नेछन् । बङ्गलादेशले साफ आयोजना गर्न अस्वीकार गरेपछि गत शुक्रबार नेपालसहित अन्य राष्ट्रका फुटबल पदाधिकारीसँग साफले भर्चुअल बैठक गरेको थियो ।
नेपालले यसअघि दुई पटक साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको आयोजना गरिसकेको छ । सन् १९९७ मा पहिलोपटक र सन् २०१३ मा नेपालले पछिल्लो पटक साफ फुटबलको आयोजना गरेको थियो । सन् २०१३ को साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग हार बेहोरेको थियो ।
भारतले हालसम्म सात पटक साफ फुटबलको उपाधि उचालेको छ । नेपाल भने पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलसम्म पुग्ने पर्खाइमा छ ।