logo
२०८१ मंसिर १० सोमवार



अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी बार्सिलोनाको रहेन

फुटबल |
खेलकुद |


अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी बार्सिलोनाको रहेन
तस्विर-जेमी केम्ब्ले


गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । क्याटालोन क्लब बार्सिलोनाले अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी बार्सिलोनामा नरहने बताएको छ । आर्थिक र बनावटीय अवरोधले उहाँ बार्सिलोनामा नरहने उसले प्रष्ट्याएको छ ।
३४ वर्षीय मेस्सी बार्सिलोनासँगको अनुबन्धन सम्झौता सकिएपछि गत जुलाई १ देखि स्वतन्त्र खेलाडी हुनुहुन्छ । दुई सातापछि उहाँले पारश्रमिक घटने नयाँ सम्झौता गर्न सहमत हुनुभएको थियो । तर त्यसका लागि बार्सिलोनाले केही खेलाडीलाई मुक्त गरेर उहाँको तलबको जोहो गर्नुपर्ने थियो । बार्सिलोनाले एक वक्तब्य जारी गरी भनेको छ, “खेलाडी र क्लबको इच्छा पूरा नहुने भएकोमा दुबै पक्ष अत्यन्तै पश्चातापमा छन् ।”
मेस्सीले नयाँ सम्झौता गरेर आफ्नो २१ वर्षे आबद्धतालाई लम्ब्याउन तयार रहे पनि ला लिगाको कारणले त्यसो हुन नसकेको बार्सिलोनाले जनाएको छ । मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहन सहमत हुनुभएको थियो । तर ला लिगाले कुनै नयाँ खेलाडी दर्ता गर्नु अघि खेलाडीको तलब घटाउनुपर्ने जनाएको थियो ।
बार्सिलोनाले मेस्सीको अगामी यात्राका लागि शुभकामना दिदै यतिका वर्षसम्म क्लबमा आबद्ध रहेर सेवा गरेकोमा कृतज्ञता ब्यक्त गरेको छ । मेस्सी बार्सिलोनाका सर्वाधिक गोलकर्ता खेलाडी हुनुहुन्छ । उहाँले हालसम्म ६७२ गोल गर्नुभएको छ । बार्सिलोनामा आबद्ध रहँदा उहाँले दश पटक ला लिगाको उपाधि, चार पटक च्याम्पियन्स लिग र सात पटक कोपा डेल रेलसँगै फिफाले प्रदान गर्ने बलून डे अरको उपाधि छ पटक जित्नुभएको छ ।
मेस्सीलाई बार्सिलोनामै राख्ने अध्यक्ष जोआन लर्पोटाको सबैभन्दा प्राथमिकताको विषय थियो । बार्सिलोनासँगको आबद्धता त्यागेपछि लियोनल मेस्सी विश्वकै सर्वाधिक माग भएका खेलाडी बन्ने बताइएको छ । बार्सिलोनासँगको आबद्धता लम्ब्याउन सहमति नभएको अवस्थामा मेस्सीले पेरिस सैन्ट जर्माइन वा म्यान्चेष्टर सिटीमा आबद्ध हुने चर्चा चलेको थियो । अमेरिकी फुटबलको प्रमुख लिगमा आबद्ध हुन सक्ने विकल्पसमेत मेस्सीसँग छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?