गोरखापत्र अनलाइन
काठमाडौं, साउन २२ गते । दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टोलिले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अनुसार भदौ तेस्रो साता नेपालले भारतको राष्ट्रिय फुटबल टोलीसँग स्पर्धा गर्ने तय भएको छ ।
एन्फाका अनुसार पहिलो खेल भदौ १७ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल भदौ २० मा हुनेछ । अखिल नेपाल फुटबल सङ्घ र अखिल भारत फुटबल सङ्घबीच औपचारिक रुपमा मैत्रीपूर्ण फुटबलका लागि सहमति भएको छ । भारत पनि साफ च्याम्पियनशीपको तयारीमा छ । साफ च्याम्पियनशीप अगामी अक्टोबर महिनामा बङ्गलादेशले आयोजना गर्ने तय भएको थियो । तर बङ्गलादेशले आयोजना गर्न अस्वीकार गरेपछि साफ च्याम्पियनशीपको आयोजना नेपालले गर्ने लगभग तय भएको छ । प्रतियोगिता अक्टोबर महिनामा नै हुने गरी तय भएको हो ।
दुबै टोलीले हालसम्म एक अर्का विरुद्ध १९ खेल खेलेको छ । भारतले १३ खेल जितेको छ । नेपालले भारतलाई दुईपटक हराएको छ । सन् २०१३ मा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनशीपमा नेपालले २–१ ले भारतलाई हराएको थियो ।
पछिल्लो पटक नेपालले भारतलाई मार्च २०१५ मा आयोजना गरेको थियो । दुबै टोलीले गोलरहित बराबरी खेलेको थियो । सन् २०१८ को फिफा विश्वकप छनोट खेल्ने क्रममा सन् २०१५ मा नेपालले भारतको सामना दशरथ रङ्गशालामा गरेको थियो ।