गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ७ गते । सिरी ए को आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ । यूडिनिजले युभेन्ट्ससँग २–२ को बराबरी खेल्दै अङ्क बाँड्न बाध्य बनायो ।
इटाली सिरी ए को सुरुवाती खेलमा युभेन्ट्सका ब्यवस्थापक मस्सिमिलियानो अल्लेग्रीले क्रिष्टियानो रोनाल्डोलाई प्राथमिकतामा नराखी बेञ्चमा छोड्नुभयो । रोनाल्डोले आफैं सुरुवाती एघारमा नराख्न आग्रह गरेको आँकलन गरिएको छ । तर युभेन्टसका निर्देशक पाभेल नेदभेदले भने रोनाल्डोलाई बेञ्चमा राख्ने निर्णय सामूहिक र सहमतिमै गरिएको प्रष्ट्याउनुभएको छ ।
३६ वर्षीय रोनाल्डोले अल्भारो मोराटालाई ६० औं मिनेटमा बिस्थापित गर्नुभएको थियो । आए लगत्तै हेडरमार्फत् गर्नुभएको गोललाई भिडियोको सहयोगमा अफसाइड दिइएपछि रोनाल्डो निराश हुन पुग्नुभयो ।
खेल सुरु भएको तेस्रो मिनेटमै डिबालाले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाउनुभयो । २३ औं मिनेटमा जु क्वाड्राडोले गोल गर्दा युभेन्ट्सले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । तर ५१ औं मिनेटमा यूडिनिजले पाएको पेनाल्टीलाई पेरेराले गोलमा परिणत गर्दै खेलमा पुनरागमन गराउनुभयो । ८३ औं मिनेटमा डिउलोफिउले गोल थप्दै युभेन्ट्सलाई अङ्क बाँड्न बाध्य पार्नुभयो ।