गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ८ गते । वेष्टहम यूनाइटेडले लेष्टर सिटीमाथि फराकिलो अन्तरको जित हात पारेको छ । इंग्लीश प्रिमियर लिग अन्तगर्त गए राति अबेर सम्पन्न खेलमा वेष्टहमले लेष्टरलाई ४–१ को फराकिलो अन्तरले हराएको हो । वेष्टहमले प्रिमियर लिगको पहिलो दुई खेल जितेको यो दोस्रो अबसर मात्रै हो ।
लण्डनस्थित रङशालामा सम्पन्न खेलमा वेष्टहमका मिकैल एन्टोनियोले दुई गोल गर्नुभयो । उहाँले प्रिमियर लिगमा वेष्टहमका लागि आफ्नो ४९ औं पुरा गर्नुभयो । २६ औं मिनेटमा पाब्लो फोर्नलसको गोलबाट वेष्टहमले पहिलो हाफमा १–० को अग्रता लियो । ५६ औं मिनेटमा सैड बेन्रामाले गोल थप्दै अन्तरलाई दोब्बर पार्नुभयो । पहिलो हाफको ४० औं मिनेटमा पेरेजले रातो कार्ड पाएपछि दश खेलाडीमा सीमित हुन पुगेको लेष्टरका लागि युरी टेलिमान्सले ६९ औं मिनेटमा पुनरागमन गोल गर्दै खेल २–१ को स्थितिमा ल्याउनुभयो ।
एन्टोनियोले ८० औं र ८४ औं मिनेटमा लगातार दुई गोल थप्दा वेष्टहमले लेष्टरमाथि ४–१ को सहज जित हात पार्न सफल भयो ।