गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १४ गते । लियोनल मेस्सीले पेरिस सैन्ट जर्माइन(पीएसजी)का लागि डेब्यु गर्नुभएको छ । फ्रेञ्च लिग वानमा पीएसजीले राइम्समाथि २–० को जित हात पार्दा मेस्सीले ६६ औं मिनेटमा मैदानमा प्रबेश गर्नुभयो ।
अर्जेन्टाइन मेस्सीले ३० नम्बर अङ्कित जर्सी लगाएर आफ्ना सहखेलाडी नेयमारलाई बिस्थापित गर्दै मैदानमा प्रबेश गर्नुभयो । बार्सिलोना बाहेकको क्लबका लागि मेस्सीको यो पहिलो खेल हो । “उहाँ आफ्नो सर्बोत्कृष्ट लयभन्दा धेरै टाढा हुनुहुन्छ यद्दपी राम्ररी प्रशिक्षण लिनुभएको छ र अबको दुई सातामा उहाँ पूर्णरुपमा फिट हुनुहुनेछ ।”–पीएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले बताउनुभयो । पीएसजी उहाँको उत्कृष्ट लयका लागि पर्खेको र उहाँले डेब्यु गर्नुभएकोमा खुशी भएको पोटेटिनोले खेलपछि प्रतिक्रिया दिनुभयो ।
“बलमा पहिलो प्रहारदेखि नै उहाँको प्रदर्शन राम्रो रहयो, मैदान प्रबेशले मस्तिष्कमा शान्ती छाएको छ र सुरुवाती खेलमै जित हात पार्नु उहाँको लागि समेत खुशीको कुरा हो ।”–पोचेटिनो बताउनुभयो ।
पीएसजीको जितमा दुबै गोल क्लियन म्बाप्पेले गर्नुभयो । रियल मड्रिडले क्लियनसँग सम्झौता गर्ने पुरा तयारी गरेको अवस्थामा यो पीएसजीका लागि सम्भबतः अन्तिम खेल हुने दाबी गरिएको छ । खेलाडी स्थानान्तरणका लागि मंगलबारसम्मको समयसीमा रहेको छ ।
रियल मड्रिडले २२ वर्षीय क्लियनका लागि १३ करोड ७० लाख पाउन्ड मूल्य लगाएको छ । पीएसजीका लागि क्लियनले १७५ खेलमा १३५ गोल गर्नुभएको छ । एञ्जेल डे मारियाको क्रसलाई क्लियनले हेडरमार्फत् गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाउनुभयो । पहिलो हाफको १६ औं मिनेटमा गोल गर्दै क्लियनले पीएसजीका लागि आफ्नो १३४ औं गोल पुरा गर्नुभयो ।
“क्लियन हाम्रा खेलाडी छन्, फुटबल र ब्यापार सधैं कानेफुसी र अफवाह फैल्नेबाट तपाईहरु राम्ररी अवगत हुनुहोला ।”– पोचेटिनोले बताउनुभयो । क्लियन पीएसजीका मात्रै नभई विश्वकै सबैभन्दा उत्कृष्ट मध्येका एक खेलाडी रहेको र क्लियन हामीसँग विद्यमान रहेकोमा खुशीको कुरा रहनुका साथै हाम्रो लागि उपहार रहेको उहाँले बताउनुभयो ।
३४ वर्षीय मेस्सीले आफ्नो २१ वर्षे आबद्धता त्यागेर बार्सिलोनाबाट पीएसजी सर्नुभएको छ । अर्जेन्टिनाले गत् जुलाइमा कोपा अमेरिका जिते यता मेस्सीको यो पहिलो खेल थियो । १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध हुनुभएका मेस्सीले ७७८ खेलमा ६७२ गोल गर्नुभएको छ ।