logo
२०८१ मंसिर ९ आईतवार



भारतद्वारा इंग्ल्याण्ड समक्ष ३६८ रनको लक्ष्य प्रस्तुत

खेलकुद |
क्रिकेट |


भारतद्वारा इंग्ल्याण्ड समक्ष ३६८ रनको लक्ष्य प्रस्तुत
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । भारतले चौथो टेष्ट खेलमा इंग्ल्याण्ड समक्ष ३६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । जवाबमा इंग्ल्याण्डले उत्कृष्ट सुरुवात गरेको छ ।
चौथो दिनको खेल समाप्त हुँदा इंग्ल्याण्डले बिना कुनै क्षतिमा ७७ रन जोडेको छ । उसलाई जितका लागि अझै २९१ रन आवश्यक छ भने उसले ९० ओभर खेल्न बाँकी छ । रोरी बनर्स ३१ र हसीब हामीदले ४३ रन बनाएर दिनको खेल अगाडि बढाउनुहुनेछ ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले फितलो प्रदर्शन गर्दा पहिलो पारीमा मात्र १९१ रनमा समेटिन पुग्यो । कप्तान बिराट कोहली र अलराउन्डर श्रद्धुल ठाकुरले अर्धशतक पारी खेल्नु अतिरिक्त अन्य कुनै ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन ।
इंग्ल्याण्डका लागि क्रिस वोक्सले सर्बाधिक चार तथा ओलि रोबिन्सनले तीन एवम् जेम्स एन्डरसन र क्रैग ओभर्टनले सामान एक एक विकेट लिनुभयो ।
जवाबमा इंग्ल्याण्डले ओलि पोपको ८१ र क्रिस वोक्सको अद्र्धशतकीय पारीको सहयोगमा २९० रन बनाएर पहिलो पारीमा ९९ रनको बढ्त लिन सफल भयो । भारतका लागि उमेश यादबले तीन तथा जसप्रित बुमराह र रबिन्दर जडेजाले सामान दुई दुई तथा श्रद्धुल ठाकुर र मोहम्मद सिराजले एक एक विकेट लिनुभयो ।
पहिलो पारीमा ९९ रनले पछाडि परेको भारतले दोस्रो पारीमा ओपनर रोहित शर्माको शतक तथा चेतेश्वर पूजारा, ऋषभ पन्त र श्रद्धुल ठाकुरको अर्धशतकको सहयोगमा ४६६ रनको सम्मानजनक योगफल तयार गर्न सफल भयो । इंग्ल्याण्डका लागि क्रिस वोक्सले तीन तथा ओलि रोबिन्सदनले दुई एवम् जेम्स एन्डरसन, क्रैग ओभर्टन र जोइ रुटले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?