लन्डन, कात्तिक ५ गते । जोस मोरिन्होको प्रशिक्षकत्वमा रहेको इटालीको ठूलो क्लब रोमा युरोपा कन्फरेन्सलिगमा नर्वेको टिम बोडो ग्लिम्टसँग ६–१ ले लज्जास्पद ढङ्गले पराजित भएको छ । विश्व फुटबलमा राम्रो रणनीति बनाउने प्रशिक्षकको छवि बनाएका मोरिन्होको टिमले छ गोल वेहोरेको यो पहिलो पटक हो ।
यस प्रतियोगिताअन्तर्गत सुरुका दुई खेल जितेकोले पनि बोडोविरुद्ध रोमा जितको दावेदार थियो । तर बोडोले शानदार प्रदर्शन गरी रोमालाई पहिलो हारको स्वाद चखाएको छ । नर्वेको च्याम्पियन टिमका लागि इरिक बोथेम र ओला सोलबाकेनले दुई–दुई तथा प्याट्रिक बर्ग र अमाल पेलेग्रीनोले एक–एक गोल गर्नुभयो । रोमाका लागि एक मात्र गोल फरवार्ड काल्र्स पेरेजले गर्नुभयो ।
रोमासँगै अर्को उपाधि दावेदार इङ्गल्यान्डको टोटेनहाम पनि नेदरल्यान्ड्सको भिटेसेसँग १–० ले स्तब्ध भयो । भिटेसविरुद्ध टोटेनहामले पछिल्लो खेमला न्युक्यासलविरुद्ध जित हात पार्ने पहिलो रोजाईका एघार जना खेलाडीलाई नै परिवर्तन गरेको थियो । प्रमुख स्ट्राइकर हेरी केनले टिमसँग भ्रमण गर्नुभएन । जसको फाइदा भिटेसेले उठायो । खेलको ७८ औँ मिनेटमा म्याक्सिमिलियन विटेकको गोलपछि टोटेनहामले हार जोगाउन सकेन । यसअघि, ब्रायन गिलको प्रहार गोलपोस्टमा लागेर फर्केको थियो ।
युरोपा लिगमा वेस्ट ह्याम र दस खेलाडीमा सीमित लियोँले लगातार तेस्रो जित हात पारे । चालू युरोपा लिगमा शतप्रतिशत जितको नतिजा निकाल्ने इङ्गल्यान्डको वेस्ट ह्याम र फ्रान्सेली क्लब लियोँ मात्र रहेका छन् । लियोँले दुई गोलले पछाडि परेर पनि स्पार्टा प्रागलाई उसकै मैदानमा ४–३ ले हराउन सफल भयो । यसैग्री, वेस्ट ह्यामले गेन्कलाई ३–० ले हरायो ।
एपी