logo
२०८१ मंसिर ९ आईतवार



इरानसँग राम्राे खेल्ने छाैं : महर्जन

फुटबल |
खेलकुद |


इरानसँग राम्राे खेल्ने छाैं :  महर्जन


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । एएफसी यु२ ३ एसियन कप छनोट प्रतियोगितामा नेपालको यु २३ राष्ट्रिय फुटबल टिमले सोमबार इरानविरुद्ध खेल्दैछ । ताजकिस्तानमा हुने सो खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताका लागि आफ्नाे टिमले तयारीका लागि कम समय पाएपनि इरानविरुद्धको खेलका लागि तयार छौँ, भन्नुभयो ।

एक प्रशिक्षकको रुपमा मैले यस छनोटका लागि टिम तयार गर्न पर्याप्त समय पाइन । एक टिम भएर केही हप्ता मात्र अभ्यास गर्यौँ । टिमका रहेका प्राय खेलाडी साफ च्याम्पियन्सीपमा व्यस्त भएकोले पनि सबै खेलाडीलाई समेटेर लामो समय प्रशिक्षण हुन सकेन । तर पनि टिममा साफमा खेलेर आएका खेलाडी छन् । जसले टिमलाई फाइदा पुग्नेछ । हामी यस प्रतियोगिताका लागि सकारात्मक छौँ– प्रशिक्षक महर्जन भन्नुहुन्छ ।

माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सीपमा उपविजेता बनेको नेपाली राष्ट्रिय टिममा सामेल छ खेलाडी नेपालको यु २३ टिममा रहेका छन् । राष्ट्रिय टिमका सदस्य मनिष डाँगी, सुमन अर्याल, गौतम श्रेष्ठ, नितिन थापा, सुरज जिउ ठकुरी र आयुष घलान टिममा हुनुहुन्छ ।

अन्य खेलाडीमा अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडल, अनिल महर्जन, अविषेक लिम्बु, सेसेहाङ आङडाम्बे, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, ऋतिक खड्का, अभिषेक रिजाल, दर्शन गुरुङ र एरिक विष्ट रहनुभएको छ ।

नेपाल समूह बीमा ताजकिस्तान, लेबनान र इरानसँग रहेको छ । प्रशिक्षक महर्जनले आफ्नाे समूहमा रहेका सबै टिम स्तरीय भएको वास्ताविकतालाई स्वीकार गर्दै राम्रो नजिताका लागि सर्वश्रेष्ठ प्रदर्शन गर्नुपर्ने धारणा राख्नुभयो ।

नेपालले दोस्रो खेल अक्टोबर २८ मा ताजकिस्तान र अन्तिम खेल अक्टोबर ३१ मा लेबनानविरुद्ध खेल्नेछ । यस समूहमा शीर्ष स्थानमा रहने टिम एएफसी यु२३ एसियन कपमा चयन हुनेछ । यसैगरी, दोस्रो स्थानमा रहने टिमसमक्ष पनि छनोट प्रतियोगितामा रहेका ११ समूहमध्ये समूह उपविजेतामध्ये उत्कृष्ट चारमा परेर छनोट हुने सम्भावना रहनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?