मिलान, कात्तिक २२ गते । इटालियन सिरिएमा भएको मिलान डर्बी १–१ ले बराबरीमा सकिएको छ । एसी मिलानविरुद्धको बारबरीपछि इन्टर मिलान अङ्क तालिकाको शीर्षस्थानमा उक्लिनबाट वञ्चित भयो । एसी मिलान भने नापोलीसँगै संयुक्तरुपमा शीर्षस्थानमा छ ।
एसी मिलानकै पूर्व मिडफिल्डर हाकन चाल्हाग्नोग्लुले खेलको ११ औँ मिनेटमा पेनाल्टीमा गोल गरी इन्टरलाई अगाडि पार्नुभएको थियो । गत जुनमा मात्र चार वर्ष एसी मिलानमा बिताएपछि हाकन इन्टर पुग्नुभएको हो । तर छ मिनेटपछि नै डिफेन्डर स्टेफन डा भ्रिजले आत्मघाती गोल गरेपछि एसी मिलानले खेल बराबर गर्यो ।
खेलको २७ औँ मिनेटमा इन्टरले अर्को पेनाल्टी पाएको थियो । तर यसपटक लाउटारो मार्टिनेजको पेनाल्टी प्रहारलाई इन्टर मिलानका गोलरक्षक सिप्रियन टाटारुसानुले विफल पार्नुभयो । यसैगरी फोडे बालो टाउरोले पूर्वार्धको अन्तिम मिनेटमा निकोलो बरेलाको प्रहारलाई गोलरेखाबाट जोगाएपछि पुनः इन्टर नजिक पुगेर पनि अग्रता जोगाउन वञ्चित भएको थियो ।
सोही रात मिलानसँगै शीर्षस्थानमा रहेको नापोली पनि हालस भेरोनासँग १–१ ले बराबरीमा रोकिएका थियो । यी दुई टिमभन्दा सात अङ्कले पछाडि परेको इन्टर मिलान तेस्रो स्थानमा छ । यसैगरी,जोस मोरिन्होको टिम रोमा ३–२ ले भेनेजियासँग पराजित भएको छ । रोमाले पछिलला सात खेलमा मात्र एक जित हात पारेको छ । यस हारपछि रोमा छैटौँ स्थानमा झरेको छ । यस सत्रमा सिरि एमा फर्केपछि भेनेजियाले एक खेलमा दुई गोल गरेको यो पहिलो पटक हो । रोमालाई हराएपछि भेनेजिया रेलिगेशन क्षेत्रभन्दा तीन अङ्कले माथि पुगेको छ ।
अर्को खेलमा लाजियोले रेलिगेशनको खतरामा रहेको सालेरनितानालाई ३–० ले हरायो ।
एपी