काठमाडौँ, मङ्सिर ४ गते । स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओ रेलिगेसनको दबाबमा रहेको लिभान्तेसँग बराबरीमा रोकिएको छ । लिभान्तेको घरेलु मैदानमा सुक्रबार राति गोलरहित बराबरी खेल्दै बिल्बाओले अंक बाँडेको हो ।
प्रतिस्पर्धात्मक खेलमा लिभान्तेले ४९ प्रतिशत बल पोसेसन राख्दै १५ वटा पोस्ट प्रहार गरेको थियो । घरेलु मैदानमा पहिलो जित निकाल्ने लिभान्तेको योजनामा बिल्बाओको रक्षापंक्ति बाधक बन्यो । लिभान्ते जारी लिगमा एउटै खेल नजितेको एक्लो टोली हो । यता ५१ प्रतिशत बल पोसेसन राखेको पाहुना टोली बिल्बाओले पनि गोल गर्न सकेन । बिल्बाओले सातवटा पोस्ट प्रहार गरेको थियो ।
यस खेलसँगै लिभान्ते र बिल्बाओ जारी लिगमा सर्बाधिक बराबरी खेल्ने टोली पनि बनेका छन् । दुवै टोली सात खेलमा बराबरीमा रोकिएका छन् । लिभान्तेका रक्षक कार्लोस क्लर्क ‘म्यान अफ दी म्याच’ भए । बराबरीसँगै १९ अंक बनाएको बिल्बाओ तालिकाको सातौं स्थानमा छ । १३ खेल सकेको बिल्बाओले चार जित, सात बराबर र दुई हार खेपेको छ ।
१४ खेलबाट सात अंक बनाएको लिभान्ते रेलिगेसनको दबाबमा छ । १९औं स्थानमा रहेको लिभान्तेले सात बराबरी र सातवटै हार खेपेको छ । लिगको शीर्षस्थानमा रहेको रियल सोसिडाडले १३ खेलबाट २८ अंक बनाएको छ । सोसिडाडलाई पछ्याएको रियल म्याड्रिड र सेभियाले समान २७ अंक बनाएका छन् । रियल र सेभियाले एक खेल कम खेलेका छन् । २३ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ । एजेन्सी