काठमाडौं, मङ्सिर ६ गते । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सिटीले एभर्टनलाई ३–० गोलले हरायो । सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङ, रोड्री र बर्नाडो सिल्भाले एक एक गोल गर्नुभयो ।
खेलको सुरुवात देखिनै पाहुना टोलीलाई दबाबमा राखेको सिटीको ४४औँ मिनेटमा खाता खोलेको थियो । रहिम स्टर्लिङले जोओ क्यान्सिलोको पासमा गोल गर्नुभयो । ५५औँ मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनु भयो । ८६औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई फराकिलो जित दिलाउनुभयो ।
जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटीले १२ खेलबाट २६ अंक बनाइको छ । शीर्षस्थानमा रहेको चेल्सीको २९ अंक छ । सिटीसँग पराजित एभर्टन १५ अंक सहित ११औँ स्थानमा छ । आइतबार रातिनै भएको अर्को खेलमा टोट्टनहामले लिड्स युनाइटेडलाई २–१ गोलले हरायो । घरेलु मैदानमा पुनरागमन जित निकालेको टोट्टनहामका लागि टमा पिएरे एमिल होएबिएर र सर्जियो रेगुइलोनले गोल गर्नुभयो । लिड्सका लागि ड्यानियल जेम्सले सुरुवाती गोल गर्नुभएको थियो ।
ड्यानियलले ४४औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनु भएको थियो । त्यसपछि टोट्टनहामका पिएरेले ५८औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ६९औँ मिनेटमा सेर्जियोले गोल गर्दै टोट्टनहामलाई जिताउनुभयो ।
यस जितसँगै टोट्टनहाममा प्रशिक्षक एन्टोनियो कोन्टेले पनि सुखद सुरुवात गर्नु भएको छ । कोन्टेले जिम्मेवारी लिनुभएपछि प्रिमियर लिगमा टोट्टनहाम पहिलो जित हो । जितसँगै १९ अंक बनाएको टोट्टनहाम सातौं स्थानमा छ । पराजित लिड्स युनाइटेड ११ अंकसहित १७औँ स्थानमा छ । एजेन्सी