काठमाडौँ, मङ्सिर २६ गते । थ्रीस्टार र विभागीय टोली एपीएफ क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा थ्रीस्टार र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गाल गर्ने राम्रा अवसर गुमाएका थिए । पहिलो हाफमा आक्रामक देखिएको एपीएफले गोल गर्न सकेन । दोस्रो हाफमा लयमा देखिएको थ्रीस्टारले पनि गोल फर्काउन सकेन । एपीएफका प्रदीप लामा ‘म्यान अफ दी म्याच’ हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
बराबरीसँगै चार खेलबाट पाँच अंक बनाएको थ्रीस्टार पाँचौँ स्थानमा छ । लिगमा पहिलो अंक हात पारेको एपीएफ १३औँ स्थानमा छ । थ्रीस्टारले पहिलो खेलमा छिमेकी क्लब च्यासल युथलाई ३–० गोलले हराएको थियो । दोस्रो खेलमा सातदोवाटो युथ क्लबसँग १–० गोलले पराजित भएको थ्रीस्टार तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।
एपीएफले अघिल्ला तीनै खेलमा पराजय भोगेको थियो । एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२, दोस्रो खेलमा च्यासल युथसँग १–० र तेस्रो खेलमा सातदोबाटोसँग ४–१ गोलले पराजित भएको थियो ।