काठमाडौँ, मङ्सिर २९ गते । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध नेपालले सानदार जित निकालेको छ । बंगलादेशको ढाकामा बुधबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ६–० गोलले हरायो ।
एकपक्षीय खेलमा नेपाललाई जिताउन रश्मी कुमारी घिसिङले दुई गोल गर्नुभयो । सविता रानामगर, मेनुका आलेमगर, सलोनी रानामगर र रजनी थोकरले एक एक गोल गर्नुभयो । नेपालले पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो ।
जितसँगै नेपालले दुई खेलबाट चार अंक बनाएको छ । लगातार हार खेपेको श्रीलंकाले अंक जोड्न सकेको छैन । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भुटान, श्रीलंका र भारत सहभागि छन् ।
नेपालले लिग चरणको तेस्रो खेल डिसेम्बर १७ तारिख भुटानसँग र अन्तिम खेल भारतसँग १९ तारिख खेल्नेछ । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा शीर्ष दुई टोलीबीच २१ तरिख फाइनल भिडन्त हुनेछ ।