logo
२०८१ मंसिर ८ शनिवार



स्पेनिस ला लिगामा सेभिया र बार्सिलोना विजयी

फुटबल |
खेलकुद |


स्पेनिस ला लिगामा सेभिया र बार्सिलोना विजयी


काठमाडौँ, पुस ४ गते । स्पेनिस ला लिगामा दोस्रो स्थानमा आसिन सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले हरायो । बार्सिलोनाले इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो ।

सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गर्नुभयो । एट्लेटिकोका फिलिपेले साँत्वना गोल फर्काउनुभयो । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौंँ मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो ।

३३औँ मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गर्नुभएको थियो । ८८औँ मिनेटमा लुकास ओकम्पोसले जुलेस कोन्डेको पास गोल गर्दै सेभियालाई जिताउनु भयो । सेभियाका इभान राकिटिक ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

जितसँगै सेभियाले दोस्रो स्थान थप बलियो बनाएको छ । १७ खेल सकेको सेभियाको ३७ अंक छ । पराजित एट्लेटिको २९ अंक सहित पाँचौँ स्थानमा झरेको छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको ४२ अंक छ ।

यसैगरी घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान जुटग्ला, पाब्लो गाभिरा र निकोले गोल गर्नुभयो । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गर्नुभएको थियो । जारी सिजन खराव लयबाट गुज्रिएको बार्सिलोनाको पछिल्लो पाँच खेलमा यो पहिलो जित हो । बार्सिलोनाले १६औँ मिनेटमा फेरानको गोलमा अग्रता लिएको थियो । पाब्लोले १९औँ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाउनु भयो ।

दोस्रो हाफमा खेलमा फर्किएको इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्यायो । ६२औँ मिनेटमा टेटे मोरेन्टे र ६३औँ मिनेटमा पेरे मिल्लाले गोल गरेपछि खेलले रोचक मोड लिएको थियो ।

त्यसपछि ८५औँ मिनेटमा निकोले पाब्लो गाभिराको पासमा गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाउनु भयो । जितसँगै १७ खेलबाट २७ अंक बनाएको बार्सिलोना सातौँ स्थानमा छ । पराजित इल्चे १५ अंक सहित १६औँ स्थानमा छ ।

अर्को खेलमा भिल्लारियलले १० खेलाडीमा सिमित रियल सोसिडाडलाई ३–१ र रायो भालेकानोले डिर्पोटिभो अलाभेसलाई २–० गोलले पराजित गरेको छ । विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजनले प्रतक्ष प्रशारण गरेको छ । एजेन्सी 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?