काठमाडौँ, पुस ४ गते । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४–१ गोलले हरायो ।
आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले दुई तथा बुकायो साका र इमिल स्मिथ रोवीले एक एक गोल गर्नुभयो । लिड्सका राफिन्हाले सान्त्वना गोल फर्काउनुभयो । १६औँ मिनेटमा मार्टिनेलीको गोल गर्दै पाहुना टोली आर्सनललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो ।
२८औँ मिनेटमा मार्टिनेलीले ग्रानिट झाँकाको पासमा ब्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाउनुभयो । ४२औँ मिनेटमा बुकायो साकाले गोल गर्दै पहिलो हाफमै आर्सनलको अग्रता थप बलियो बनाउनुभयो ।
७५औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै लिड्सलाई खेलमा फर्काउने प्रयास गर्नुभयो । डिबक्सभित्र जोइ गेलहाड्टले माटेअस क्लिचलाई लडाएपछि लिड्सले पेनाल्टी पाएको थियो । त्यसपछि ८४औँ मिनेटमा इमिल स्मिथ रोवीले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै आर्सनललाई फरकिलो जित दिलाउनुभयो ।
जितसँगै १८ खेलबाट ३२ अंक बनाएको आर्सनल चौथो स्थानमा छ । पराजित लिड्स १६ अंक सहित १६औँ नै स्थानमा छ । शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको ४१ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ४० र तेस्रो स्थानमा रहेको चेल्सीको ३७ अंक छ । एजेन्सी