काठमाडौँ, पुस ४ गते । बंगलादेशमा जारी साफ यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । ढाकास्थित शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आइतबार दिउँसो भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । भारतसँगको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ ।
भारतको जितमा प्रियंका देवीले निर्णायक गोल गर्नुभयो । नावरेमले ६७औँ मिनेटमा गोल गर्नुभएको थियो । फाइनल पुग्न नेपाललाई भारतलाई बराबरीमा मात्र रोके पुग्ने थियो । तर, अन्तिममा सम्हालिन नसक्दा नेपालको उपाधि यात्रा कमजोर बनेको हो । जितसँगै भारत फाइनलमा पुगेको छ ।
अब नेपाललाई फाइनल पुग्न बंगलादेश र श्रीलंकाबीचको खेलको नतिजा कुर्नुपर्ने भएको छ । जितसँगै भारतले नौ अंक बनाएको छ । नेपालको सात अंक छ । बंगलादेशको पनि सात नै अंक छ । यदि बंगलादेश श्रीलंकासँग पराजित भएमा नेपालको फाइनल पुग्ने सम्भावना रहने छ । बंगलादेशलाई बराबरी गरेमात्र फाइनल पुग्न प्रयाप्त छ ।
बंगलादेश र श्रीलंकाको खेल पनि आजै हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, भुटान, श्रीलंका र भारत सहभागी छन् । राउन्ड रोबिन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपमा शीर्ष दुई टोलीबीच मंगलबार फाइनल भिडन्त हुनेछ ।