काठमाडौँ, पुस ५ गते । स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड रेलिगेसनको मारमा रहेको काडिजसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले काडिजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।
कोरोना संक्रमणका कारण रियल रोजाईका ६ जना खेलाडीविनै खेलेको थियो । लुका मोड्रिच, रोड्रिगो, मार्काे असेन्सियो, मार्सेलो, आन्द्रेय लुनिन र ग्यारेथ बेलले काडिजविरुद्ध खेल्न सक्नुभएन ।
खेलभर काडिजमाथि दबाब जमाएको रियलले तीन दर्जन पोस्ट् प्रहार गरेको थियो । ८२ प्रतिशत बल पोसेसन राखेको रियलले गोल गर्न भने सकेन । रक्षात्मक खेल खेलेको काडिज आफ्नो रणनितिमा सफल भयो । काडिजका रक्षक कार्लोस अकापो ‘म्यान अफ दी म्याच’ हुनुभयो ।
बराबरीसँगै शीर्षस्थानमा रहेको रियलले १८ खेलबाट ४३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३७ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । रियललाई रोकेको काडिज १४ अंक सहित १९औँ स्थानमा छ । आइतबार रातिनै भएको अन्य खेलमा एथलेटिक बिल्बाओले तेस्रो स्थानमा रहेको रियल बेटिसलाई ३–२ गोलले स्तब्ध बनायो ।
जितसँगै बिल्बाओ नवौँ स्थानमा उक्लिएको छ । बिल्बाओले १८ खेलबाट २४ अंक बनाएको छ । ३३ अंक बनाएको रियल बेटिस तेस्रो स्थानमा यथावत छ । अर्को खेलमा ग्रानाडाले मालोर्कालाई ४–१ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गरेको छ । एजेन्सी